काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन रोकिएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ नै कब्जा गरेपछि निर्वाचन रोकिएको हो ।
उक्त नगरपालिकामा गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा कांग्रेस र एमालेका हुलहुज्जतमा आएका कार्यकर्ताले एकाएक बुथ नै कब्जा गरेपछि निर्वाचन रोकिएको थियो । निर्वाचन रोकिएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गराउने तयारी गरेको छ ।
उसले यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने गरी तयारी थालेको जनाएको छ । बूढीगंगा नगरपालिकामा हुने निर्वाचनमा पहिलेका निर्वाचन अधिकृतलगायत सुरक्षा अधिकारीलाई फिर्ता बोलाइएको छ ।
उनीहरुलाई फिर्ता बोलाएसँगै नयाँ निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचनलाई भयरहित बनाउन प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ नेतृत्व पठाइने भएको छ ।