• बैशाख २८ २०८३, सोमबार

रुपन्देही बस दुर्घटना: मृत्यु हुने ९ जनामध्ये ८ जनाको सनाखत,२३ जना घाइते

जेष्ठ २२ २०७९, आईतवार

रुपन्देही । रुपन्देहीको रोहिणी खोलामा भएको बस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये आठ जनाको सनाखत भएको छ ।

जनकपुरबाट भैरहवाका लागि छुटेको लु २ ख ३८४१ नम्बरको बस बिहान भैरहवा–परासी सडक खण्डअन्तर्गत रोहिणी गाउँपालिका ३ र ओमसतिया गाउँपालिका ४ को सीमानामा रहेको पुलबाट रोहिणी नदीमा खसेको थियो ।

दुर्घटनामा तिलोत्तमा नगरपालिका २ योगीकुटीका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहापुर बस्ने दिनेश दास, बुटवल उपमहानगरपालिका ११ का कृष्णप्रसाद बस्याल, रुपन्देहीको ओमसतियाका राजेन्द्र पाण्डे र तिलोत्तमा ८ की तुलसी बस्यालको ज्यान गएको हो ।

यस्तै भारतीय नागरिकहरू अरविन्द शर्मा र नागेन्द्र शर्मा र सञ्जय गुप्ताको ज्यान गएको हो । एक जनाको परिचय खुल्न बाँकी छ ।

दुर्घटनामा घाइते भएका २३ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनीहरूको अवस्था सुधारिँदै गएको छ ।