वीरगञ्ज । अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार वीरगंज उद्योग बाणिज्य संघको ४६ औँ साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
उनले भने, ‘निजगढ विमानस्थल बनाउने हो, बन्छ, यसै वर्ष सुरु गर्ने हो । यसका लागि जे पनि गर्न तयार छु । यो जनार्दन शर्माको प्रतिबद्धता हो। शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो ।’ हालै सर्वोच्च अदालतले निजगढमा विमानस्थल नबनाउन आदेश दिँदै सो विषयमा भएका सबै निर्णय बदर गरिदिएको थियो ।
अर्थमन्त्री शर्माले वीरगञ्ज चिनी मिल चलाउने कुरा बजेटमा उल्लेख गरिएको भन्दै सञ्चालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन वीरगञ्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने आवश्यक्ता औंल्याए ।
मन्त्री शर्माले ५-७ महिनादेखि निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा सो चिनी मिल चलाउन सरकार तयार रहेको बताए ।