• बैशाख २३ २०८३, बुधबार

पार्टी बैठक सकिए लगत्तै बालुवाटार किन हान्निए लोसपा अध्यक्ष ठाकुर ?

जेष्ठ २१ २०७९, शनिबार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

शनिबार दिउँसो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न भएलगत्तै अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा छलफल केन्द्रित हुने लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

उनले प्रधानमन्त्री देउवाले पार्टी अध्यक्ष ठाकुरलाई मिटिङका लागि बोलाएको र त्यसमा आगामी संघ र प्रदेशको निर्वाचनमा हुने गठबन्धनबारे छलफल केन्द्रित भएको बताए । झाले भने, ‘आगामी अर्को निर्वाचनमा पनि आउँदैछ, प्रतिनिधिसभा र प्रदेशसभाको । त्यस विषयमा पनि पार्टीको कार्यकारिणी समिति बैठकमा छलफल भयो । तर, प्रधानमन्त्रीजीले पार्टी अध्यक्षलाई मिटिङमा बोलाउनु भएकाले आज बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री देउवा र पार्टी अध्यक्षबीच आगामी चुनावमा गठबन्धन गर्ने विषयमा छलफल हुन्छ नै ।’

यसैबीच, लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि (आइतबार) बिहान ११ बजे पनि बोलाइएको छ ।

बिजुलीबजारस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा गरी आगामी संघ र प्रदेशको निर्वाचनको आन्तरिक तयारीको बारेमा विस्तृत छलफल हुने केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले बताए ।