काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बैतडीले रातिको समयमा पनि सेवा दिने भएको छ ।
सरकारले दुई दिन बिदा दिने गरेको तथा हप्तामा पाँच दिन मात्रै कार्यालय सञ्चालन हुने भएकाले सेवाग्राहीको भीड बढ्न थालेपछि रातिको समयमा पनि सेवा दिन थालेको हो ।
पहिलाको तुलनामा आजभोलि नागरिकता लिनेको निकै भीड बढेकाले रातिसम्म पनि सेवा दिइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने, “टाढा टाढाबाट सेवाका लागि आउने गरेका छन् । कार्यालय समय सकिए पनि अबेरसम्म पनि सेवा दिन थालेका छौँ ।”
जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने, राष्ट्रिय परिचयपत्र बनाउने, नाबालिग परिचयपत्र बनाउनेदेखि लिएर अन्य सेवाका लागि पुग्नेको भीड बढेपछि रातिको समयमा सेवा दिने गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।