• बैशाख २८ २०८३, सोमबार

पोखरा-जोमसोम हवाई रुट: पाँच दुर्घटनामा कतिले गुमाए ज्यान ? किन बन्यो सधै असुरक्षित ?

जेष्ठ २० २०७९, शुक्रबार

काठमाडौं । पोखरा-जोमसोम हवाई रुटमा पटक पटक हुने दुर्घटनाले गम्भीर प्रश्न चिन्ह उठाएको छ । दुई दशकयता पोखरा- जोमसोमको पाँच दुर्घटनामा ७८ जनाले ज्यान गुमाउनु परेको छ । तर नेपाल सरकार र वायु सेवा निगमले अहिलेसम्म पाठ सिकेको छैन ।

सो रुटमा गत आइतबार मात्रै तारा एयरको जहाज दुर्घटना हुदाँ चालकदलका सदस्यसहित २२ जनाले ज्यान गुमाउनु पर्यो । पछिल्लो दुर्घटनासम्म आइपुग्दा यो रुटको हवाइ सुरक्षाको विषयलाई लिएर प्रश्न चिन्ह उठेको छ । सो दुर्घटनाले एयर लाइन्स कम्पनीहरुको जहाजको अबस्था बारे समेत चित्रण गरेको पाइन्छ । तर, दुर्घटना भएको छोटो समयमै जोखिम न्यूनिकरणका विषयमा वायु सेवा निगम र सरकारी बे- वास्ताका कारण स्थानीय ज्यान जोखिममा राखेर हवाइ यात्रा गर्नु परिरहेको मुस्ताङ टुकुचेका बीरलाल थकाली बताउँछन् ।

पोखरा–जोमसोम रूटमा यसपटकको सहित पाँच दुर्घटना भएका छन् । यी दुर्घटनामा अहिलेसम्म ७८ जनाले ज्यान गुमाएका छन् ।यसअघि १३ फागुन २०७२ मा तारा एयरकै विमान म्याग्दीको दाना गाविसमा दुर्घटनाग्रस्त हुँदा चालक दलसहित २३ जना यात्रुको मृत्यु भएको थियो । २०७० मा नेपाल एयरलाइन्सको जहाज दुर्घटना हुँदा २१ जना घाइते भएका थिए ।

१ जेठ २०५९ मा अग्नि एयरको जहाज जोमसोम विमानस्थलनजिकै पानीट्यांकी डाँडामा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । ३ भदौ २०५९ मा जोमसोमबाट पोखरा उडेको सांग्रिला एयर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । गत साता दुर्घटना भएको विमान यसअघि प्राविधिक समस्या आएका कारण मुस्ताङको जोमसोम विमानस्थलमै धकेल्नु परेको अनुभव स्थानीयको छ । गत आइतबार भएको दुर्घटनामा एउटै परिवारका व्यक्तिहरुको निधन भएको थियो । विमानमा सवार गोरखाका ५२ वर्षका गणेशनारायण श्रेष्ठ, उनकी श्रीमती ४८ वर्षकी रश्मी, छोरीहरु २० वर्षकी रविना श्रेष्ठ र २३ वर्षकी रोजिना श्रेष्ठको मृत्यु भएको हो । अध्ययनको क्रममा अमेरिका गएका छोरीहरु नेपाल आएका बेला सपरिवार मुक्तिनाथ भ्रमणमा गएका थिए । यस्तै, दुर्घटनामा धनुषाका एकै परिवारका सात जनाको मृत्यु भएको थियो । मिथिला नगरपालिका– ११ लोटा टोल बस्ने राजनकुमार गोेलेसहित सात जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङ छन् । मृतकमध्ये पुरुषोत्तम तामाङ र तुलसादेवी काठमाडौंमा बस्दै आएका थिए । मृत्यु हुने चार भारतीय वैभवी बान्डेकर, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी र ऋतिका त्रिपाठी पनि एकै परिवारका हुन् ।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार त्रिपाठी परिवार मुम्बईदेखि आएको हो । द इन्डियन एक्प्रेसका अनुसार ५१ वर्षीया वैभवी मुम्बईको बान्द्रा कुर्ला कम्प्लेक्समा काम गर्थिन् । उनका श्रीमान् ५३ वर्षका अशोककुमार ओडिसामा काम गर्थे। २४ वर्षका धनुष र १५ वर्षकी ऋतिका आमासँग मुम्बईमै बस्थे । वैभवी र अशोककुमार वैवाहिक जीवनबाट अलग भएका थिए ।

दुर्घटनामा पाइलट प्रभाकर घिमिरे, कोपाइलट उत्सव पोखरेल, एयर होस्टेस कृस्मी थापाको पनि मृत्यु भएको छ । घिमिरेसँग २५ वर्षदेखिको उडान अनुभव थियो । को पाइलट २५ वर्षीय पोखरेल रुकुम पश्चिमको चौरजहारीका हुन् । गत वर्ष वैशाखमा तारा एयरमा आवद्ध भएका उनले फिलिपिन्सबाट पाइलट कोर्स पूरा गरेका थिए । यस्तै थापा एकल आमाले हुर्काएर एयर होस्टेस बनेकी थिइन् । उक्त विमानमा अर्का पाइलट वसन्त लामा पनि आफ्नो उडान सकेर बिदा मनाउन ताराकै विमानमा जोमसोम जाँदै थिए । उनको पनि दुर्घटनामा मृत्यु भएको छ । जहाजमा सवार दुई जना जर्मन नागरिकको पनि मृत्यु भएको थियो ।