• बैशाख २३ २०८३, बुधबार

रोल्पाका नागरिकले परिर्वतनको अनुभूति हुने गरी कार्य गर्न जननिर्वाचित प्रतिनिधिलाई नेता पुनको निर्देशन

जेष्ठ २० २०७९, शुक्रबार

कठमाडौं । रोल्पा जिल्लाका आम नागरिकले विकास र परिर्वतनको अनुभूति हुने गरी कार्य सम्पादन गर्न जननिर्वाचित प्रतिनिधिलाई नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ले निर्देशन दिएका छन् ।

काठमाडौंमा रोल्पा–काठमाडौं जनसम्पर्क समन्वय समितिले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै नेता पुनले यस्तो निर्देशन दिएका हुन् ।

हिजो (बिहीबार) संघीय राजधानी काठमाडौंमा रोल्पा–काठमाडौं जनसम्पर्क समन्वय समितिले रोल्पाका विभिन्न पालिकाबाट जननिर्वाचित प्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रमका विशेष अतिथि तथा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले रोल्पाली आम नागरिकले आफूहरूले भोट दिएर विजयी गराएका जनप्रतिनिधिबाट ठूलो आशा र अपेक्षा गरेको बताए । उनीहरूको आशालाई निराशा र अपेक्षालाई उपेक्षा नगर्न जनप्रतिनिलाई ‘अनन्त’ले सुझाव दिएका छन् ।

रोल्पाका विभिन्न पालिकाबाट जननिर्वाचित प्रतिनिधिहरूलाई उनले भने, ‘रोल्पाली आम नागरिकले तपाईंहरूबाट धेरै ठूलो आशा गरेका छन् । उहाँहरूको आशालाई निराशा नबनाउनु होला । तपाईंहरूलाई म र हाम्रो पार्टीले परी आएको खण्डमा भरपूर सहयोग गर्नेछ ।’

नेता अनन्त थप्छन्, ‘जनप्रतिनिधिले निर्वाचित भए पश्चात् जनातको घरदैलोमा पुग्नुहोला । उहाँहरूको दुःख सुखमा तपाईंहरू सारथी बन्नुहोला । जनताको समस्या नै आफ्नो समस्या सम्झेर रोल्पा र रोल्पाली नागरिकको भविस्यलाई कहिल्यै पनि बेवास्ता नगर्नुहोला ।’

रोल्पा–काठमाडौं जनसम्पर्क समन्वय समितिले रोल्पाका विभिन्न पालिकाबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । कार्यक्रमको संयोजक यस समन्वय समितिका इञ्चार्ज जीवन प्रवेश रोका मगरले गरेका थिए भने अध्यक्षता भीमप्रकाश बाठा मगरले गरेका थिए ।

कार्यक्रमको प्रमुख आतिथ्यता नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले गरेका थिए भने प्रमुख अतिथि वर्षमान पुन ‘अनन्त’ थिए ।