काठमाडौं । जनकपुर आउने क्रममा रहेको नेपाली रेलमा बिहीबार दिउँसो आगो लागेको छ ।
नेपालको एक मात्र रेल भारतको बिहारस्थित जयनगर स्टेसनबाट नेपाल आउने क्रममा रेलको एउटा डब्बामा आगो लागेको हो। बिहीबार दिउँसो ३ बजेर १५ मिनेटमा जयनगरबाट कुर्थातर्फ आउने क्रममा रेलको एउटा बग्गीबाट धुँवा निस्किन थालेको थियो ।
बग्गीको सामान राख्ने र्याकमा राखेकोे एसिड पोखिएपछि धुवाँ निस्किन थालेको नेपाल रेल्वे विभागका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए । धुवाँ निस्के पनि आगलागी हुन नदिएर तत्कालै नियन्त्रणमा लिइएको उनले बताए । ‘ठूलो क्षति हुनबाट जोगिएको छ’ झाले भने ‘प्रहरी तथा रेल्वे कर्मचारीले तत्कालै नियन्त्रणमा लिएपछि आगलागी भएन् । नभै ठूलै क्षति हुने अवस्था थियो ।’
नेपालमा प्रतिबन्ध लगाइएको एसिड पोखिएपछि रेलको एउटा डब्बामा आगो लाग्दा यात्रुबीच भागाभाग भएको थियो । आगो तत्कालै नियन्त्रणमा लिइएको छ।
प्रतिबन्धित एसिड बोकेका दुईजना महिलालाई भारतीय प्रहरीले जयनगरमै पक्राउ गरेर हिरासतमा लिएको छ। ती नेपाली महिलाहरुलाई अहिले नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।