• बैशाख २३ २०८३, बुधबार

राजा वीरेन्द्रको शालिक तोड्फोड र प्रहरीले गरेको धरपकडविरुद्ध काठमाडौंमा प्रदर्शन

जेष्ठ १९ २०७९, बिहीबार

काठमाडौं ।  नेपालगंजमा  दिवंगत राजा वीरेन्द्रको शालिक राख्न नदिएको र त्यहाँ प्रहरीले गरेको धरपकडविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।

दोस्रो जनआन्दोलनका क्रममा दिवंगत राजा वीरेन्द्रको शालिक हटाइएको थियो । बिहीबार दरबार हत्याकाण्डको दिन पारेर स्थानीयले नेपालगञ्जस्थित धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । उक्त झडपमा प्रहरीले पक्राउ गरेका सबैको रिहाइको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक संजाल फेसबुकमा लेख्दै जनस्तरबाट पुनःस्थापित  राजा वीरेन्द्रको शालिक माथि सरकार पक्षबाट भएको तोड्फोड तथा जनसाधारण माथिको धरपकड सम्बन्धि घटनामा राप्रपाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख समेत गरेका छन् ।

साथै उनले सो झडपको क्रममा पक्राउ परेका सबैलाई तत्तकाल रिहाई गर्न तथा ईतिहासको सम्मान गर्न नेपाल सरकारसंग माग पनि गरेका छन् ।

प्रहरीले धम्बोजी चोकमा वीरेन्द्रको शालिक राख्न नदिएपछि झडप भएको हो । तनावग्रस्त बनेको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको छ । झडपका क्रममा स्थानीय र सुरक्षाकर्मी गरी एक दर्जन जति घाइते भएका छन् ।

धम्बोजी चोकलाई २०६२/६३ को जनआन्दोलनसम्म वीरेन्द्र चोक भनिन्थ्यो भने त्यहाँ वीरेन्द्रकै शालिक थियो । जनआन्दोलनका क्रममा वीरेन्द्रको शालिक तोडफोड गरेर घटाएपछि बिहीबार फेरि शालिक राख्ने प्रयास भएपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरुले राष्ट्रिय झण्डा हटाएर वीरेन्द्रको शालिक राख्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

उनीहरुले जबरजस्ती राखेको वीरेन्द्रको शालिक अहिले प्रहरीले हटाएको छ । प्रहरीको हस्तक्षेपविरुद्ध आक्रोशित भएर विरोधमा उत्रिएकाहरुले सेतु विक चोकमा राखिएको सहिद सेतु विकको शालिक पनि हटाएका छन् ।