काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ ।
निजी तवरका इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेको भन्दै इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन आईस्पानले यस्तो चेतावनी दिएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई कक्षा १२ को परीक्षाभर देशभर इन्टरनेट सेवामा अवरोध नहुने गरी व्यवस्थापन गर्न निर्देशन दिएको थियो । जसअनुसार राष्ट्रिय परीक्षा बोर्डको आग्रहमा प्राधिकरणले यस्तो निर्देशन दिएपछि आईस्पानले चेतावनीयुक्त विज्ञप्ति जारी गरेको हो ।
आईस्पानले यस्तो निर्देशन कार्यान्वयन गर्न समर्थ नरहेको जवाफ दिएको छ । ‘एकातिर राष्ट्रिय परीक्षा बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणले बिना अवरोध इन्टरनेट सेवा देशभर प्रवाह गर्न भनिरहेको अवस्था छ भने अर्कोतर्फ नेपाल विद्युत् प्राधिकरणका क्रियाकलापहरूले देशभर इन्टरनेट बन्द हुने स्थिति उत्पन्न भएको छ,’ आईस्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कक्षा १२ को वाषिर्क परीक्षा सञ्चालनमा प्रतिकूल असर पार्ने अवस्था रहेको हुँदा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विज्ञान प्रविधि मन्त्रालयको विशेष ध्यानाकर्षण गराउँछौ ।’