काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबीच भेटघाट भएको छ ।
बुधबार गृह मन्त्रालयमा वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा देखिएका समस्या समाधानबारे छलफल भएको हो ।
छलफलमा श्रम स्वीकृति जस्तै रिलेसन भीसा र भिजिट भीसामा विदेश जाँदा पनि पहिल्यै स्वीकृति लिनुपर्ने व्यवस्था गर्नेबारे छलफल भयो । त्यसका लागि अध्यागमन विभागले रिलेसन भीसा र भिजिट भीसामा विदेश जानेहरूले स्वीकृति लिनका लागि ‘एप्स’ निर्माण गर्ने र सोको व्यवस्थापन छुट्टै शाखा मार्फत गर्ने विषयमा छलफल भएको छ । प्रस्तावित व्यवस्था कार्यान्वयन भएमा भिजिट भिसामा नक्कली कागजात बनाइ विदेश पुग्ने र काम नपाइ विचल्लीमा पर्ने समस्याको समधान हुने बारेमा छलफल भएको थियो ।
छलफलमा केही स्थानीय तहले कोरियाका स्थानीय तहसँग भगिनी सम्बन्ध गाँस्दै ‘सिजनल वर्कर’ पठाउने सहमति गरेको विषयमा पनि कुराकानी भएको थियो ।
छलफलमा गृहसचिव टेकनारायण पाण्डे, श्रम मन्त्रालयका सचिव एक नारायण अर्याल, गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल, अध्यागमन विभागका महानिर्देशनक नारायणप्रसाद भट्टराई, वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेललगायत दुवै मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।