• बैशाख २८ २०८३, सोमबार

अब ‘इनरुट’को मौसम सफा नभएसम्म जहाजहरुलाई उडान अनुमति नदिने 

जेष्ठ १७ २०७९, मंगलवार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरको विमान दुर्घटना पश्चात् अब जहाजहरुलाई उडान अनुमतिमा नियम कडा गरेको छ ।

प्राधिकरणले अब प्रस्थान गर्ने विमानस्थल, पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’को मौसम सफा नभएसम्म जहाजहरुलाई उडान अनुमति नदिने भएको हो ।

आइतबार विमान दुर्घटनामा परी २२ जनाको मृत्यु भएसँगै प्राधिकरणले उडान सुरक्षालाई मध्यनजर गरी यो निर्णय गरेको हो । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णले यस्तो निर्णय आँखाले अगाडि हेरेरै गर्नुपर्ने उडान प्रणाली (भीएफआर) रहेको रुट र जहाजको हकमा लागू हुने जानकारी दिए।

अहिले जहाज प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा भएको निश्चित भए पछि जहाजहरुलाई उडानको अनुमति दिने गरिएको छ । पछिल्लो निर्णयपछि अब जहाज उड्ने रुटको मौसम समेत सफा रहेको निश्चित भएपछि मात्र उडान अनुमति दिइने भएको छ ।