• बैशाख २३ २०८३, बुधबार

माओवादी सांसदले हातै चाटेर एमालेलाई ‘खान नपाएको भालु’ भनेपछि संसदमा छुट्यो हाँसोको फोहरा !

जेष्ठ १७ २०७९, मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले प्रमुख प्रतिपक्ष नेकपा एमालेमाथि खान नपाएको भन्दै व्यंग्य गरेका छन् ।

प्रतिनिधिसभामा प्रस्तुत भएको बजेटमाथिको छलफलमा सहभागी हुने क्रममा जुम्लाबाट निर्वाचित सांसद महतले एमालेमाथि व्यंग्य गरेका छन् । उनले अहिले एमाले हिउँदे याममा खान नपाएको वनको भालु जस्तै भएको टिप्पणी गरे ।

‘हाम्रो जुम्लातिर भालु हुन्छ । वर्षायाममा मह, मेल, स्याउ, ओखर, आलु र मकै खाएको हुन्छ । हिउँदयाम लागेपछि केही खान पाउँदैन’, उनले भने,‘हिउँद लागेपछि केही खान पाउँदैन । अनि वर्षायाममा मेल खाएको हात, स्याउ ओखर र आलु खाएको हात चाटिरहन्छ रे ! अहिले एमालेलाई त्यस्तै भएको छ ।’

उनले सत्ताबाट बाहिरिएर प्रतिपक्षमा पुगेको एमालेको हालत हिउँदेयामको भालु जस्तै हुन पुगेको बताए ।

‘हिउँदे याममा केही खान पाइँदैन नि ! प्रतिपक्ष पनि अहिले त्यस्तै भएको छ’, उनले भने, ‘बजेटबारे प्रतिक्रिया आइरहेको छ, म धेरै यसतिर जान चाहन्न तर प्रतिपक्ष चाहिँ हाम्रो कर्णालीतिरको खान नपाएको भालु जस्तै भएको छ ।’