काठमाडौं । पत्नी हत्याको मुद्दामा दोषी ठहर भएका रञ्जन कोइरालालाई सेन्ट्रल जेल पुराइएको छ । उनी सशस्त्र प्रहरीका पूर्व डिआइजी हुन् । काठमाडौं जिल्ला अदालतले सोमबार कैदी पुर्जी जारी गरी कोइरालालाई सेन्ट्रल जेल पठाइएको हो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालका अनुसार सर्वोच्च अदालतको फैसलापछि कोइरालालाई कैदी पूर्जी दिई कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ ।
पत्नी हत्याको अभियोगमा दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले कोइरालालाई २० वर्षको जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध उच्च हुँदै सर्वोच्च पुगेका कोइरालालाई सर्वोच्च अदालतले ८ वर्ष ६ महिना मात्रै कैद सजाय गर्ने फैसला सुनाएको थियो ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालालाई सुनाइएको २० वर्षको जेल सजाय बढी हुने ठहर गर्दै उनलाई ८ वर्ष ६ महिना मात्रै कैद सजाय हुने फैसला सुनाएका थिए ।
सर्वोच्चले जतिबेला यो फैसला सुनाएको थियो, त्यतिबेला उनी ८ वर्ष ६ महिना जेल बसिसकेका थिए । फैसलामा कोइरालालाई सुनाइएको ‘सजाय बढी पर्न जाने चित्तमा लागेको हुँदा’ कम ठहर गरिएको उल्लेख थियो ।
तर सर्वोच्चको उक्त फैसलाविरुद्ध पुनरावेदनको निवेदन परेपछि सर्वोच्चले पुनरावेदनको निस्सा दिएको थियो । त्यसपछि उक्त मुद्दा पुनः ब्यूँतिएको थियो । केही दिनअघि मात्रै उक्त मुद्दा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशद्वय टंकबहादुर मोक्तान र कुमार चुडालको पूर्ण इजलासले उल्टाउँदै कोइरालालाई २० वर्ष नै जेल सजाय हुने फैसला सुनाएका थिए ।
सर्वोच्चको उक्त फैसला लगत्तै प्रहरीको अपराध महाशाखाले कोइरालालाई बानेश्वरबाट पक्राउ गरेको थियो । त्यसपछि फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय काठमाडौंमार्फत् काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो ।
काठमाडौं जिल्ला अदालतले सोमबार कैदी पूर्जी जारी गर्दै २०९० साल मंसिर १३ गतेसम्म थुनामा राख्न र अन्य मुद्दाबाट थुनामा राख्नु नपर्ने भए त्यसपछि छोड्न भनेको छ ।
अदालतले दिएको कैदी पुर्जीमा सर्वोच्च अदालतको फैसलाको संक्षिप्त आदेशअनुसार २०९० साल मंसिर १३ गतेसम्म थुनामा रहने र फैसलाको पूर्ण पाठमा अन्य कुरा खुलेको अवस्थामा थप राख्नुपर्ने वा चाँडै छुट्न हुनसमेत सक्ने बताएको छ ।
यता केन्द्रीय कारागारका जेलर डोरेन्द्र निरौलाले कोइरालालाई सोमबार कारागार कार्यालय जगन्नाथ देवल ल्याइएको बताए । कोइरालालाई हाल कारागार कार्यालय जगन्नाथ देवलको भद्रगृहमा राखिएको छ । भद्रगृह कारागार कार्यालय जगन्नाथ देवलको सुविधायुक्त कारागार हो ।