• मंसिर १४ २०८१, शुक्रबार

सरकारले हेलाँ गरेपनि बेलायतमा बस्ने नेपालीले वैज्ञानिक पुनलाई दिए यति धेरै आर्थिक सहयोग

जेष्ठ १६ २०७९, सोमबार

काठमाडौं । डा. महावीर पुनसँग बेलायतको डोर्सेट निवासी नेपालीहरुको समाज बीसीपी (बोर्नमाउथ, क्राइसचर्च र पुल) नेपालीज कम्युनिटीले अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । च्यारिटी लन्च गरिएको उक्त कार्यक्रममा २५ जना भन्दा धेरै नेपालीहरुको सहभागिता रहेको थियो ।

पुनद्वारा सुरु गरिएको नेपाल इनोभेसन सेन्टरलाई केही आर्थिक सहयोग गर्ने हेतुले गरिएको उक्त च्यारिटी लन्चमा ३,३०० पाउन्ड भन्दा धेरै रकम जम्मा गर्न सफल भएको र उक्त सबै रकम नेपाल इनोभेसन सेन्टरलाई हस्तान्तरण गरिने जानाकारी दिइएको थियो ।

बीसीपी नेपालीज कम्युनिटीका अगुवा तुलसी फुयालले स्वागत मन्तव्य दिंदै डा. महावीर पुनको कार्यको प्रशंसा गरेका थिए ।

इनोभेसन सेन्टर खोल्नुको कारण र उद्देश्यको बारेमा डा. पुनले जानकारी दिदै अहिले भैरहेका कामहरुको र आफ्नो बेलायत तथा युरोप भ्रमणको उद्देश्यका बारेका बताएका थिए ।

कार्यक्रममा इन्जिनियर रामराज शर्मा, समाजसेवी सागर भट्टराई, नविन महत, रञ्जन काफ्ले, लक्ष्मण अर्याल, हिरा रिमाल लगायतको सहभागिता थियो । कार्यक्रमको संयोजन हिरा रिमालले गरेका थिए भने २९(२९ नामको नेपाली रेस्टुरेन्ट र उत्सव विष्टले लन्चको प्रायोजन गरेका थिए ।

डा. पुनले आफ्नो आगामी आयोजनाहरुको बारेमा समाजलाई बताएका थिए भने विदेश रहेका नेपालीहरुको सीप र ज्ञानलाई इनोभेसन सेन्टरमा कसरी प्रयोग गर्न सकिन्छ, इनोभेसन सेन्टरले आफ्नो नियमित आम्दानीको लागी के गर्दा उत्तम हुन्छ जस्ता विषयमा इन्जिनियरद्वय रामराज शर्मा र तुलसी फुयालले डा. पुनलाई सल्लाह दिएका थिए ।

११ बजेदेखि २ बजेसम्म चलेको उक्त स्वागत तथा सहयोग कार्यक्रममा इनोभेसन सेन्टरलाई भविष्यमा पनि आफ्नो सहयोग जारी रहने भन्दै डा. पुनले देश निर्माणमा गरेको योगदानको सम्मान गरिएको थियो ।