काठमाडौं । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान खोज्न परिचालित हेलिकप्टर पोखरा र जोमसोम फर्किएको छ । खराब मौसमका कारण खोज तथा उद्धारमा परिचालित हुन नसकेपछि हेलिकोप्टर फर्किएको हो ।
थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनका अनुसार मुस्ताङको कोवाङ आसपासबाट खोजीका लागि उडान भर्न पटक–पटक प्रयास गरिएपनि बाक्लो हुस्सुका कारण खोजी कार्य सम्भव नभएपछि खोजी तथा उद्धारका लागि गएका दुई हेलिकोप्टर पोखरा र नेपाली सेनाको हेलिकप्टर जोमसोम गएको छ । हिराचनकाअनुसार अब आइतबारका लागि हेलिकोप्टरबाट खोजी कार्य स्थगित गरिएको छ ।
दुर्घटनाको आशंका :
थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनका अनुसार विमानका चालकले प्रयोग गरेको मोबाइलको नेटवर्क न्याउरीकोटभन्दा माथि रहेको लेक आसपासमा देखिएको छ । उक्त क्षेत्रमै मोबाइलको नेटवर्क देखाएको कारण विमान न्याउरीकोटको लेकभन्दा तल पर्ने मानापाथी हिमालको फेदमा रहेको खोँचमा दुर्घटनामा परेको आशंका गरिएको छ । तर उक्त क्षेत्रमा पुग्न कठिन भएको कारण त्यहाँ आज पुग्न असम्भवजस्तै रहेको हिराचनले बताए ।
खराब मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि नेपाली सेना, नेपाल प्रहरी, स्थानीय युवाको टोली सम्भावित दुर्घटनास्थलतर्फ पैदल नै गएको हिराचनले बताए । तर दुर्घटनाको सम्भावित क्षेत्र अत्यन्तै विकट भएको कारण आजै पुग्न कठिन हुने हिराचनले बताए ।
यता नेपाली सेनाले पनि खराब मौसमका कारण आइतबार उद्धारको काम गर्न नसकिएपछि आफ्नो एम आई १७ हेलिकोप्टरलाई जोमसोममा लगेको बताएको छ ।
हेलिकोप्टरको माध्यमबाट आइतबारको खोज तथा उद्धार स्थगित गरिएको बताउँदै मौसम खुलेपछि सोमबार बिहानैबाट खोज तथा उद्धारमा लाग्ने सेनाले जनाएको छ ।