काठमाडौं । सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन दिएको निर्देशनको स्वागत गर्दै दीप प्रज्जवलन गरिएको छ ।
आज (शनिबार) रिपोर्र्टर्स क्लब नेपालमा टाँगिया सेवा समाज काठमाडौं सम्पर्क मञ्चले कार्यक्रमको आयोजना गर्दै अदालतको पछिल्लो फैसला स्वागतयोग्य रहेको भन्दै खुशीयाली व्यक्त गरेको हो ।
वन तथा वातावरणमात्रै नभएर टाँगियावासीको बसोबासको भविष्य पनि सुनिश्चित् भएको भन्दै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन अदालतले दिएको आदेशप्रति समाजले खुशी व्यक्त गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल पर्यावरण संरक्षण तथा सम्वद्र्धन संघका अध्यक्ष सुदर्शन प्रधानले निजगढमा विमानस्थल बनाउन नहुने भनेर आफूहरुले अघि सारेको माग र आवाज आज आएर पूरा भएको भन्दै खुशी व्यक्त गरे । उनले पनि अदालतको पछिल्लो फैसलाले वातावरणको संरक्षण भएको टिप्पणी गरे ।
प्रधानले हवाई मैदानजस्तो दुरगामी महत्व राख्ने स्थलको छनौट गर्ने माथि निजगढको जंगल, खोटपूर्ण र शंकास्पद रहेको थियो भन्ने अभिव्यक्ति दिएका छन् । उनले विकल्प हुँदाहुँदैपनि निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन खोजिएकोमा आफूहरुले धेरै पहिलेदेखि नै विरोध जनाएको स्मरण गराए ।