दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेले विजयी हासिल गरेको छ । यसअघि नेकपा एमालेका घनश्याम पाण्डेले नेतृत्व गरेको उपमहानगरमा एमाले विरासत ढाल्दै आफ्नो बर्चस्व जमाउन तम्सिएको संयुक्त गठबन्धनलाई हराउँदै मेयर र उपमेरमा क्रमशः एमालेका टिकाराम खड्का र स्यानी चौधरी विजयी भएका हुन् ।
खड्का र चौधरीको विजयसँगै तुलसीपुरमा आफ्नो विरासत जोगाउन पुनः एमाले सफल भएको छ । मतसंख्या हिसाबमा गठबन्धन एमालेभन्दा धेरै बलियो भएपनि हारेको हो । ०७४ निर्वाचन परिणाम आधारमा ०७९ सालमा गठबन्धनले एमालेको बिरासत ढाल्दै आफ्नो बर्चस्व स्थापित गर्ने लक्ष्य राखेको थियो । तर चुनावी परिणाम उल्टो देखा प¥यो । एमालेले झण्डै साढे ३ हजार हजार मतले गठबन्धनलाई पछि पार्दै पुनः आफ्नो बिरासित जोगाउन सफल भएको छ ।
गठबन्धन दलका साझा मेयर उम्मेदवार काँग्रेसका गेहेन्द्र गिरीलाई एमालेका खड्काले ३ हजार ६ सय ९१ मतले पछि पार्दै मेयरमा विजयी भएका हुन् । मेयर निर्वाचित खड्काले ३१ हजार ४ सय ८ मत प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै उपमेयरमा एमालेकी स्यानी चौधरीले गठबन्धन तर्फका उपमेयर पदका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानालाई साढे ९ हजार फराकिलो मतले हराएकी छिन् । उपमेयरमा चौधरीले ३० हजार ५ सय ९७ मत प्राप्त गरी विजयी भएकी हुन् । भने गठबन्धन तर्फका उपमेयर उम्मेदवार रानाले २१ हजार ६५ मत प्राप्त गरी पराजय भएका हुन् ।
मेयर र उपमेयरमा विजयी भएसँगै खड्का र चौधरीले तुलसीपुर उपमहानगरपालिकाको पहिलो काम तुलसीपुरमा बसोबास गरिरहेका सुकुम्वासीहरूलाई लालपुर्जा दिने बताए । तुलसीपुर उपमहानगरपालिकाभित्र सुकुम्वासी, भूमिहिनहरुको अव्यवस्थित बसोबासीहरु धेरै रहेकाले स्थानीय सरकारको पहिलो र प्राथामिकतामा काम नै सुकुम्वासी व्यवस्थापन रहेको खड्काले बताए ।
उपमहानगरपालिकाभित्र करिव २५ हजार जति सुकुम्वासी रहेकाले सुकुम्वासीहरुको वास्तविक लगत संकलन गरी पहिचानका आधारमा लालपुर्जा वितरण गर्ने उनको भनाइ छ । आगामी पाँंच वर्षभित्रमा उपमहानगरपालिकाभित्र सुकुम्वासी समस्या समाधान वर्तमान नेतृत्वबाट समाप्त पार्ने उनको भनाइ छ ।
करिव २५ हजार सुकुम्वासीहरूको बसोबासी रहेकाले उनीहरुलाई जग्गाधनी पुर्जा दिलाउने पहिलो काम स्थानीय सरकारले गर्ने बताए । उनले भने–‘म सुकुम्वासी हुँ, सुकुम्वासी हुनुको पीडा कस्तो हुन्छ भन्ने थाहा छ, सुकुम्वासी व्यवस्थापन मेरो पहिलो काम हुनेछ ।’