काठमाडौं । विप्लव नेतृत्वको नेकपाबाट अलग भएर बनेको नेकपा (बहुमत) पार्टीले जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ता रिहा गराउनका लागि पहल गर्न वार्ता तथा संवाद समिति गठन गरेका जनाएको छ । सो पार्टीका प्रवक्ता हेमन्तप्रकाश वली‘सुदर्शन’को संयोजकत्वमा बनेको वार्ता टोलीमा गुणराज लोहनी, वार्ता टोलीका पूर्वसदस्य उदयबहादुर चलाउने ‘दिपक’ र देवकला अधिकारी रहेका छन् ।
एनसेलमाथि भौतिक कारवाही गरेको र देशका विभिन्न स्थानहरुमा विष्फोट गराई जनधनको क्षति पुर्याएको भन्दै तत्कालीन विप्लव नेकपालाई केपी ओली नेतृत्वको सरकारले ०७५ साल चैत्र २८ गते प्रतिबन्ध लगाएको थियो ।
प्रतिबन्धको समयमा सो पार्टीका झण्डै २५ सय कार्यकर्ता पक्राउ परेका थिए भने दर्जनौंको संख्यामा मारिएका थिए । ०७७ फाल्गुणमा ओली सरकारसित भएको ३ बुँदे सहमतिपछि ती कार्यकर्ता रिहा हुनुपर्नेमा हालसम्म पनि ३ दर्जन जति जेलमै रहेका छन् ।
३ बुँदे सहमतिपछि विप्लव नेकपाका नेता खासगरि विप्लव र प्रकाण्डहरु यहि व्यवस्थाले आयोजना गरेको स्थानीय निर्वाचनमा जाने पक्का भएपछि उनीहरुबाट अलग भइ गठन भएको नेकपा (बहुमत)ले जेलमा रहेका कार्यकर्ताहरुलाई रिहा गराउन पहल थालेको हो । सो पार्टीको हालै काभ्रेमा बसेको नवौँ महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।
महाधिवेशन आयोजक समितिका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’को अध्यक्षतामा बसेको उक्त बैठकले विचारधारात्मक तथा साङ्गठनिक निर्णय गर्नुका साथै अभियानात्मक रूपमा देशव्यापी सङ्गठन विस्तार, भेला र प्रशिक्षणहरू गर्ने निर्णय पनि गरेको छ ।
सो प्रवक्ता सुदर्शनले एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी दिएका हुन् । प्रवक्ता सुदर्शनले पार्टीले लिएका धेरै निर्णयहरुमध्ये देशव्यापी रूपमा विचारधारात्मक तथा राजनीतिक कार्यअन्तर्गत मालेमावादी नियमित स्कुलिङ सञ्चालन गर्ने जस्ता कुराहरु जानकारी गरएका छन् ।
उनले राजनीतिक कार्यदिशाका रुपमा जनवादी क्रान्तिको कार्यभारसहितको वैज्ञानिक समाजवाद, कार्यनीतिका रुपमा स्वाधीन संयुक्त सरकार, कार्यनीतिक कार्यक्रम संसदीय व्यवस्थाको अन्त्य, राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता लगायत विषयमा समग्र पार्टीपङ्क्ति तथा जनपङ्क्तिलाई स्पष्ट पार्न ब्यूरोस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
सुदर्शनले तत्कालीन पार्टी नेकपाले अङ्गीकार गरेको ‘एकीकृत जनक्रान्ति’को कार्यदिशा पदावलीमा गलत नभए पनि विप्लव-प्रकाण्डहरूले व्यवहारिक रूपमा त्यसलाई सारसङ्ग्रहवादी बनाएको निष्कर्ष निकाल्दै अब आफ्नो पार्टीको क्रान्तिको कार्यदिशा, न्यूनतम् कार्यक्रम तथा राजनीतिक कार्यदिशा जनवादी क्रान्तिको कार्यभारसहितको वैज्ञानिक समाजवाद, कार्यनीति स्वाधीन संयुक्त सरकार, कार्यनीतिक कार्यक्रम संसदीय व्यवस्थाको अन्त्य, राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता’ बनाएको बताएका छन् ।
विज्ञप्तिमा सुदर्शनले क्रान्तिकारी कम्युनिस्टहरूको बृहत् कार्यगत एकता, संयुक्त मोर्चा र पार्टी एकताका लागि तीव्र पहल गर्ने निर्णय गरेको जनाएका छन् ।
यस्तै राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्बन्धी मुद्दाहरूलाई लिएर जनसङ्घर्षका कार्यक्रमहरू अघि बढाउने र पार्टीको नवौँ महाधिवेशन आउँदो फागुन १ गते जनयुद्ध दिवसका अवसरमा उद्घाटन गर्ने निर्णय नेकपा (बहुमत) को बैठकले गरेको छ ।
त्यस्तै बैठकले झुट्टा मुद्दामा फसाइएका सम्पूर्ण राजबन्दीहरूको रिहाइ, सम्पूर्ण नेता तथा कार्यकर्ताहरु र सर्वसाधारण जनतामाथि लगाइएका झुट्टा मुद्दा खारेज गर्न सरकारसँग जोडदार माग गर्ने निर्णय पनि गरेको छ । विप्लव नेकपा सरकारले हालै सम्पन्न गरेको स्थानीय चुनावमा सहभागि भएको छ ।
पार्टी नै चुनावमा नजाने, जाने कार्यकर्ताहरुले पार्टी समितिबाट राजिनामा दिने र स्वतन्त्ररुपमा उठेका देशभक्त र एमसीसी विरोधी उमेदवारहरुलाई सघाउन सकिने भन्ने पार्टी केन्द्रको बहुमतले गरेको निर्णय विपरीत महासभिव विप्लव र नेता प्रकाण्डले ठाडो आदेश गरेर पार्टीका केन्द्रीय सदस्य र जिल्ला सचिवहरुलाई नै उमेदवार बन्न खटाएपछि विप्लव नेकपामा वैचारिक विभाजन आएको थियो ।
पार्टी केन्द्रको सोही निर्णय विप्लव-प्रकाण्डहरुले छोडेर हिंडेपछि धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा पूर्वपार्टीको बहुमत केन्द्रीय सदस्यले गरेको निर्णयलाई लिएर पार्टी पुनर्गठन गरेको संयोजक बास्तोलाको भनाई रहेको छ ।
सो बैठकमा महासचिव विप्लवले सरकारले गराउने संसदीय व्यवस्था अन्तरगतको स्थानीय चुनावमा पार्टी नै सहभागि हुने प्रस्ताव गरेका थिए । तर बहुमत केन्द्रीय सदस्यले उनको सो प्रस्तावलाई अल्पमतमा पारिदिएका थिए ।
आफ्नो प्रस्ताव अप्लमतमा परेपछि नैतिकताको आधारमा राजिनामा दिनुपर्नेमा विप्लवले धेरै केन्द्रीय सदस्यहरुसित व्यक्तिगत भेटघाटगरि चुनावको पक्षमा बोल्न र चुनावमा जान निर्देशन गरेका बहुमत पार्टीका नेताहरुको आरोप छ।