• बैशाख २८ २०८३, सोमबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको ज्यान गयो

जेष्ठ ११ २०७९, बुधबार

काठमाडौं । झापा, सुनसरी, कास्की, सर्लाही र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।

झापाको शिवसताक्षी नगरपालिका–१ मा को. १ ख ७१८७ नम्बरको बसले प्रदेश १–०२–०४० प ७१४९ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार भोजपुर षडानन्द नगरपालिका–८ घर भएका २३ वर्षीय टिचोहाङ राई रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा प्रदेश १–०२–०३ त १९७८ नम्बरको ट्रयाक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुने ७० वर्षीया जैतीदेवी चौधरी हुन् ।

कास्कीको पोखरा महानगरपालिका–९ नागढुङ्गाको ओरालोमा ग.१९ प ५२१ नम्बरको स्कुटर गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने सोही महानगरपालिका-३३ का ४० वर्षीय किशोर कुमार थापा रहेको प्रहरीले जनाएको छ । सर्लाहीको हरिवन नगरपालिका–१० सुकेपोखरीस्थित सडकमा ना.६ ख ३२६८ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीया महिला रहेकी छन् । त्यस्तै कपिलवस्तुको बुद्धभूमी नगरपालिका–२ पानीधारास्थित सडकमा ना.५ ख ७७५ नम्बरको बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–९ जग्दिशपुर बस्ने ३० वर्षीय अशोक थारु रहेका छन् ।