• बैशाख २८ २०८३, सोमबार

झापाका दुई पालिकाको प्रमुखमा महिला निर्वाचित

जेष्ठ ११ २०७९, बुधबार

काठमाडौं । झापाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुखमा महिला निर्वाचित भएका छन् ।

निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेकी छन् । महतरा नेकपा (एमाले)बाट र राजवंशी नेपाली कांग्रेसबाट विजयी बनेकी हुन् ।

झापाका १५ पालिकामध्ये एमालले तीन र कांग्रेसले दुई पालिकामा महिलालाई प्रमुख पदका उम्मेदवार बनाएको थियो । मुख्य दलका पाँच महिलाले प्रमुख पदमा उम्मेदवारी पाए पनि विजयी भने दुई जना मात्र भए ।

एमालेले दमकमा गीता अधिकारी, बिर्तामोडमा महतरा र बुद्धशान्ति गाउँपालिकामा मीरा भुर्तेललाई प्रमुखको उम्मेदवार बनाएको थियो । अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा र भुर्तेल नेपाली कांग्रेसका मनोज प्रसाईँसँग पराजित भइन् ।

यसैगरी, कांग्रेसले अर्जुनधारा नगरपालिकामा रञ्जिता कार्की र गौरीगञ्जमा फूलमति राजवंशीलाई उम्मेदवार बनाएको थियो । कार्की एमालेका बलदेव गोम्देनसँग पराजित बनिन् भने राजवंशीले एमालेकै विजयकुमार अग्रवाललाई पराजित गर्दै विजयी बनिन् ।

बिर्तामोड नगरप्रमुख महतरा २०७४ सालको निर्वाचनबाट उपप्रमुख पदमा विजयी बनेकी थिइन् । राजवंशी २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपासँग पराजित भएकी थिइन् ।

झापामा अघिल्लो निर्वाचनमा कमल गाउँपालिकाले मात्र महिला अध्यक्ष पाएको थियो । जिल्लाका १२ पालिकामा महिला उपप्रमुखमा निर्वाचित भएका थिए भने भने कचनकवल, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगपालिकामा मात्र पुरुष उपप्रमुखमा निर्वाचित भएका थिए ।