काठमाडौं । रसुवामा दुईदिनको १५/२० दिनदेखि सिलसिलाबद्द ढंगले ठूल्ठूला चोरी र लुटपाटका घटनाहरु भएका छन् । चोरहरुको समूहले जिल्लाको कालिका–२ पेट्रोलपम्प नजिकै डिल्ली ढकाल र भगवती नेउपनेको घरमा गएराती मात्रै चोरी गरि नगद सहित गरगहना पनि लगेको छ ।
यता धारापानी बेतिनीमा पनि चोरी भएको खबर आएको छ । चोरहरुलाई पक्राउ गरि कारवाही गर्न र पीडितलाई क्षतिपूर्ती उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रसासन कार्यालय र कालिका गाउँपालिका र सम्बन्धित निकायसँग पीडितले अनुरोध गरेको स्थानीय शंकर न्यापौनेले जानकारी दिए ।
त्यस्तै गतराती नै कालिका–३ बेतिनीमा रहेको शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाको कार्यालय भवन फोडेर नगद रु.३,१५,७५४ रकम चोरी भएको समाचार छ । साथै सोही समयमा धारापानी, माझ्गाउ, बनुवा सहित बेतिनीमा विष्णु न्यौपानेको पसलमा पनि चोरी भएको खबर छ । ती घटनाको तत्काल अनुसन्धान गरि दोषीलाई कारवाही होस् भन्ने स्थानीय जनताको माग रहेको छ ।
त्यस्तै घटना १५/२० दिन पहिला डाडागाउँमा १६ वटा घरमा र सार्वजनिक सरकारी सम्पत्तीमा पनि भएको थियो । हाल सम्मपनि सो घटनाको अनुसन्धान भएको बारे स्थानीयलाई कुनै पनि जानकारी आएको छैन । मानिसहरुको ध्यान चुनावतिर गइरहेको मौका पारेर रसुवाको कुनै न कुनै गाउँमा लुटपाट चलिरहेको भएपनि प्रहरी प्रशासनले खासै वास्ता नगरेको स्थानीयले दुखेसो गरेका छन् ।
डाँडागाउँमा भएको चोरीको घटनाको सिसी टिभी फुटेज प्रहरीले फेला पार्दा पनि कारबाही हुन नसकेको स्थानीयकोे गुनासो छ ।
स्थानीयले दिएको जानकारी अनुसार चोरहरुको समूहले सेना र प्रहरीको जस्तो स्टाइलमा कपाल काटेको, कालो ट्रेकसुट लगाएको पाइएको छ । धेरै ठाउँमा चोरी गर्ने एउटै समूह भएको जस्तो स्थानीयले अनुमान गरेका छन् ।
चोरहरुको समूहले भैंसी व्यापारीको भेषमा गाउँमा पसेर मिठाई खुवाएर मानिसहरुलाई लट्ठ पार्ने र तामाका भाँडा, गरगहना चोर्ने गरेका थिए ।
मान्छे नबस्ने खाली भएका घरहरु, सहकारी संस्थाका कार्यालयहरु, सरकारी कार्यालय वडा कार्यालयहरुमा समेत पसेर चोरी गर्ने गरेपनि प्रहरीले वास्ता नगरेको र प्रहरी समक्ष पुगेर रिपोर्टीङ गर्दा यस्ता चोरीका घटना त कति हुन्छन् कति भनेर पन्छिएको स्थानीयलाई उदृत गर्दै पत्रकार न्यौपानेले बताए । यसबारेमा बुझुन खोज्दा कालिका–२ का वडाध्यक्ष उमेश न्यौपानेको फोन उठेन ।
यो घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय रसुवामा बुझ्दा सोधपुछका लागि २ जनालाई नियन्त्रणमा लिएर छोडिएको र थप अनुसन्धान भइरहेको जानकारी प्राप्त भयो । यस घटनाका बारेमा थप जानकारी लिंदा स्थानीय शंकर न्यौपानेले चोरीमा संलग्नको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको भएपनि हिजो नै छोडेको बताए ।
उनले गतराती पनि नुवाकोटको तुप्चेमा पनि चोरी भएको र थप विवरण आउन बाँकी रहेको बताए । स्थानीयहरुका अनुसार मानिसहरु चोर आउने भयका कारण रातभर जाग्राम बस्न बाध्य भएका छन् ।