काठमाडौं । स्थानीय तह निर्वाचनको विशाल चुनावी आमसभाको आयोजना गरिएको जुम्लाको सिंजामा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संबोधन गरे । उक्त सभामा समर्थकहरुको उल्लेख्य सहभागिता पनि थियो ।
समर्थकहरुको उल्लेख्य सहभागितालाई पार्टीप्रतिको लोकप्रियताको रुपमा एमालेले प्रस्तुत गर्यो । तर, चुनावी नतिजा भने एमालेको पक्षमा देखिएन ।
जुम्लामा एमाले पालिका प्रमुख र उपप्रमुख बिहीन बनेको छ । अघिल्लो निर्वाचनमा एमालेले तिला गाउँपालिको अध्यक्ष र सिंजा गाउँपालिकाको उपाध्यक्ष जितेको थियो । यसपटकको निर्वाचनमा एमालेले ती पालिका पनि गुमाएको छ ।
त्यस्तै, अघिल्लो पटक जुम्लामा माओवादी केन्द्रले ३ अध्यक्ष र ५ उपाध्यक्ष जितेको थियो । यसपटक माओवादी केन्द्रले २ अध्यक्ष र ४ उपाध्यक्ष जितेको छ ।
यो स्थानीय तहको चुनावमा जुम्लाका ८ पालिकामध्ये ५ पालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ भने ३ उपप्रमुख पद जितेको छ । यहाँको एकमात्र नगरपालिका चन्दननाथमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
त्यस्तै, माओवादी केन्द्रले तिला र सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ भने तातोपानी र पातारासी गाउँपालिकाको उपाध्यक्षमा मात्रै विजयी भएको छ ।