• बैशाख २८ २०८३, सोमबार

बलात्कारका दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध छ : गृह मन्त्रालय

जेष्ठ ७ २०७९, शनिबार

काठमाडौं । सरकारले आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा काठमाडौंको एक कन्सल्टेन्सी सञ्चालकले किशोरीलाई बलात्कार गरेको घटनामा सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्ता घटना छानबिन गरी सत्यतथ्य पत्ता लगाएर दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जनाएको हो ।

‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित महिला हिंसा सम्बन्धी सामग्री सम्बन्धमा शुक्रबार प्रतिनिधि सभा बैठकमा सासंदहरूले उठाएको विषयमा सभामुखले गर्नुभएको रूलिङ, नागरिक समाजबाट कारबाहीका लागि प्रदर्शन र दबाबका सम्बन्धमा नेपाल सरकार, गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता विषयमा शीघ्र छानविन गरी सत्य तथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध छ।’

मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरको संयोजकत्वमा छानविन समिति गठन भै समितिले काम समेत सुरु गरिसकेको मन्त्रालयले जानेको छ ।

समितिलाई अनुसन्धान कार्यमा सहयोग गर्न पनि मन्त्रालयले सबैमा आग्रह गरेको छ ।