• बैशाख २८ २०८३, सोमबार

बलात्कारीलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

जेष्ठ ७ २०७९, शनिबार

काठमाडौँ। सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्षअघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।

माइतीघर मण्डलामा भेला भएका युवायुवतीहरुले सो घटनामा परेकी पीडितलाई तत्काल न्याय दिन र पीडकलाई कारबाही गर्न सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेका हुन।

बलात्कारीलाई सजाय दे, दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर, बलात्कार सम्बन्धि घटनाको न्याय निरुपणका लागि देखिएको हदम्याद खारेज गर लेखिएको प्ले कार्ड प्रर्दशन गर्दै प्रर्दशनकारीहरुले बलात्कारमा परेका पीडितलाई न्याय दिलाउने काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराएका छन्।

बलात्कार घटनाका पीडित ती युवतीलाई न्याय दिलाउने कार्यमा सहयोग गर्न सबैलाई अपिल गरिएको छ।

एक युवतीले आठ वर्ष अघि सौन्दर्भ प्रतियोगिताको क्रममा आफूलाई आयोजक संस्थाले बोलाएर बलात्कार गरेको घटना सामाजिक सञ्जाल टिकटकमार्फत् सार्वजनिक गरेकी थिईन। त्यसको विरोधमा शुक्रबार पनि प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरिएको थियो भने संघीय संसद प्रतिनिधिसभाका सांसदहरुले पनि पीडित ती युवतीलाई न्याय दिन र दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका थिए।