• बैशाख २३ २०८३, बुधबार

धादिङमा एमालेले गुमायो ६ वटा पालिका, क-कसले लिए ती एमाले किल्ला ?

जेष्ठ ७ २०७९, शनिबार

काठमाडौं । २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा धादिङमा ८ वटा पालिका जितेको एमालेले यसपाली ती इलाका गुमाएको छ । जहाँ एमालेले ८ वटा पालिका जित्दा कांग्रेसले ३ र माओवादी केन्द्रले १ र राप्रपाले १ पालिका जितेका थिए ।

तर, ५ वर्षको अवधिमै धादिङमा पहिलो पार्टीबाट एमाले तेस्रो, त्यो पनि निकै थोरै संख्यामा सिमित भएको छ । एमालेले निकै सकसका साथ थाक्रे र गल्छी गाउँपालिकाको नेतृत्व हात पारेको छ । गल्छीमा एमालेका उम्मेदवार केदारनाथ खतिवडाले जम्मा २ सय ५२ मतले एकीकृत समाजवादीका उम्मेदवार कृष्णहरि श्रेष्ठलाई हराएका छन् ।

०७४ मा ३ हजार बढी मतले जितेको थाक्रेमा पनि एमालेले थोरै मतले जित हात पारेको हो । एमाले धादिङको ३ पालिकामा दोस्रो प्रतिस्पर्धीसमेत बन्न सकेको देखिएन ।

धादिङमा एमाले विभाजनको असर निकै बलियो गरि देखिएको छ । धुनिबेसी गाउँपालिकामा एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीका उम्मेदवारले एमालेलाई हराउँदै जित हात पारेका छन् । गल्छी गाउँपालिकामा पनि एमाले र एकीकृत समाजवादीबीचमै प्रतिस्पर्धा देखिएको छ ।

एकीकृत समाजवादीले एमालेकै उम्मेदवारसँग प्रतिस्पर्धा गरेर तीन पालिकाको उपप्रमुख जितेका छन् । ज्वालामुखी गाउँपालिका, बेनीघाटरोराङ गाउँपालिका र सिद्धलेख गाउँपालिकामा नेकपा एसका उम्मेदवारले एमालेका उम्मेदारलाई हराएका छन् ।

दोस्रो कार्यकालका लागि धादिङका पालिकाहरुमा भएको प्रतिस्पर्धामा कांग्रेसले ७, माओवादी केन्द्रले ३, एमालेले २ र एकीकृत समाजवादीले १ पालिका जितेका छन् । उपप्रमुख तर्फ कांग्रेसले ५, माओवादीले ५ र एकीकृत समाजवादीले ३ जितेका छन् । एमालेले भने कुनै पनि पालिकामा उपप्रमुख जित्न सकेन ।

एमालेले ०७४ मा जितेका गंगाजमुना गाउँपालिका, गजुरी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, धुनीबेशी गाउँपालिका, नेत्रावती गाउँपालिका र सिद्धलेक गाउँपालिका गुमाएको छ । एमालेसँग निकै सकसका साथ गल्छी र थाक्रे गाउँपालिका मात्रै बाँकी छ ।