• बैशाख २८ २०८३, सोमबार

अमेरिकी राष्ट्रपतिको विशेष दूत भोली नेपाल आउँदै, दलाइ लामासँग भेटेर के कुरा गरिन् ?

जेष्ठ ५ २०७९, बिहीबार

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको विशेषा दूतले नेपाल आउनु एक दिन अघि भारतमा तिब्बतका निर्वासित धर्म गुरु दलाई लामासँग भेटवार्ता गरेकी छिन्। तिब्बत मामिला विशेष मामिला संयोजक समेत रहेकी उज्रा जियाले नेपालमा तिब्बती शरणार्थीको अबस्था र उनीहरुलाई परिचयपत्र दिनुपर्ने विषयमा आफ्नो कुरा राख्नेछिन् ।

विहीबार भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा अवस्थित दलाई लामाको निवास पुगेर जियाले अमेरिकी जनता र राष्ट्रपति बाइडेनको सन्देश सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसक्रममा जियाले लामाको सु—स्वास्थ्यको कामना गरिन्। ‘विश्व शान्तिका लागि यहाँको सन्देशप्रति हामी आभार ब्यक्त गर्न चाहन्छौं’ जियाले भेटवार्तामा भनिन्।

बाइडेन राष्ट्रपतिमा नियुक्त भएयता दलाई लामा र तिब्बत हेर्ने वरिष्ठ अमेरिकी अधिकारीबीच पहिलोपटक प्रत्यक्ष भेटवार्ता भएको हो। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले जियालाई गत डिसेम्बर २० मा तिब्बती मामिला हेर्ने विशेष संयोजक नियुक्त गरेका थिए।

यता चीनले तिब्बत आफ्नो अभिन्न अंग रहेकाले अमेरिकाको अनावश्यक चासो आफूलाई मान्य नहुने बताउँदै आएको छ। तिब्बत टुक्राउने प्रयासस्वरुप अमेरिकाले दलाई लामालाई प्रयोग गर्दै आएको चीनको भनाई छ। तिब्बत मामिला स‌योजक नेपाल आउनुअघि नै नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन बिरोधी गतिबिधिलाई सहयोग पुग्ने कुनै पनि क्रियाकलापमा सहयोग नगर्न गृह मन्त्री बालकृष्ण खाँणसँग आग्रह गरिसकेकी छिन् । नेपालले आफ्नो भूमि कसैको लागि पनि प्रयोग गर्न नदिने यसअघिको प्रतिबद्ता व्यक्त गरिसकेको छ । सो प्रतिबद्धता कार्यान्वयन गर्न चिनियाँ रावदूत यान्छीले गृहमन्त्री खाँणको ध्यानाकर्षण गराइसकेको छ ।

सन् २०२० मा अमेरिकी संसदले पास गरेको ‘टिबेट पोलिसी एन्ड सपोर्ट एक्ट’ मा अमेरिकी विदेशमन्त्रीले तिब्बतीहरुको पक्षमा नेपालसँग आवाज उठाउने स्पष्ट उल्लेख छ। जसप्रति चीनले चर्को आपत्ति जनाएको थियो।