अर्घाखाँची । विप्लव नेतृत्वको नेकपाबाट अलग भइ पुनर्गठन भएको नेकपा(बहुमत)ले जिल्ला सेक्रेटरी खिम घर्ती ‘माहुरी’लाई कारवाही गरेको छ ।
उनलाई विप्लवको निर्देशनमा जर्वजस्ती स्वतन्त्र उम्मेदवार उठाउने, दलाल संसदीय व्यवस्थाका मतियारसँग साँठगाँठ गर्ने, चुनावमा एमसीसी पक्षधरलाई भोट माग्ने र मतदान केन्द्रमा गई मतदान गर्ने, उमेदवारी दर्ताको क्रममा गठबन्धनका उम्मेदवार बोकेर निर्वाचन कार्यालय गएको लगाएतका आरोप लगाइएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको ८औं केन्द्रिय समितिको १२औं पूर्ण बैठकको निणर्य विपरीत गई संसदीय व्यवस्थाको स्थानीय निर्वाचनमा मुल नेतृत्व नै जोडतोडका साथ लागि परेको र एकीकृत जनक्रान्तिको प्रयोगको नाममा पार्टीलाई यही व्यवस्थामा समाहित गर्दै अगाडी बढेको भन्दै धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा नेकपा(बहुमत) गठन गरिएको छ ।
नेकपा (बहुमत) पार्टीका अर्घाखाँची सेक्रेटरी बारुदद्धारा आज विज्ञप्ति निकालेर उनलाई कारवाही गरिएको जानकारी दिइएको छ ।
विज्ञप्तमा भनिएको छ,‘हामी इमान्दार क्रान्तिकारी नेता, कार्यकर्ताले क्रान्तिको झण्डा र आन्दोलनलाई अगाडी बढाउनको लागि बैशाख २१, २२, २३ चितवनमा सम्पन्न विशेष राष्ट्रिय भेलामा अर्घाखाँचीबाट सहभागि भई चुनाव परस्त पार्टी नेतृत्व, नेता, कार्यकर्तालाई कार्वाही गरी कमरेड कञ्चनको नेतृत्वमा पार्टीलाई निरन्तरता दिंदै अगाडी बढेको कुरा सबैमा सर्ववितिदैै छ ।
मिति २०७९ जेष्ठ २ गते कमरेड माहुरीद्धारा हस्ताक्षर गरेको विज्ञप्तीमा नवीन खड्का ‘बारुद’लाई फुट परस्त गतिविधिमा सहभागि भई हालसम्म पार्टी सम्पर्कमा नरही पार्टी नीति विपरीत गतिविधिमा संलग्न रहेको भनि निष्काशित गरिएको झुट प्रचारबाजी गरिएको विज्ञप्तीप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण रहेको छ ।’
पार्टीको जिल्लाको पूर्ण बैंठकको निणर्य विपरीत जिल्ला सेक्रेटरी खिम घर्ती ‘माहुरी’ले जर्वजस्ती स्वतन्त्र उम्मेदवार उठाउने, दलाल संसदीय व्यवस्थाका मतियारसँग साठगाठ गर्ने, कथित चुनावमा एमसीसी पक्षधरलाई भोट माग्ने र मतदान केन्द्रमा गई मतदान गर्ने, नोमिनेशनको क्रममा गठबन्धनका उम्मेदवार बोकेर निर्वाचन कार्यालय जाने गरेको कारणले कार्वाही गरी पार्टी अगाडी बढेको र जिल्लाका दुईतिहाई भन्दा बढी जिल्ला सदस्य, जबस, जातीय मोर्चा, पालिका कमिटीहरु सबै एक ढिक्का भएर समाजवादी क्रान्तिको पक्षमा रहेको जानकारी गराउँदछु, बारुद्धद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा सिंगो पार्टी पङ्क्ति, जवस र मोर्चा, संघसंस्था आम समर्थक शुभचिन्तक र जनताहरुमा कुनै पनि भ्रममा नपरी क्रान्तिको पक्षमा लाग्न पनि अपील गरिएको छ ।
