• बैशाख २३ २०८३, बुधबार

तनहुँको म्याग्देमा कांग्रेसको किल्ला एमालेले भत्कायो, मायादेवीलाई जिते श्रीप्रसादले

जेष्ठ २ २०७९, सोमबार

तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा यसपाली एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । उनले नेपाली कांग्रेसकी मायादेवी रानालाई ७१८ मतान्तरले पराजित गरेका छन् ।

श्रेष्ठले चार हजार ९५० मत पाएका छन् भने रानाले चार हजार २३२ मत पाइन् । यो पालिकामा १८ हजार १०५ मतदाता रहेकामा ११ हजार ९४३ मत खसेको थियो । अघिल्लो पटक पनि यहाँको अध्यक्षमा यिनै दुईको चुनावी भिडन्त भएको हो ।

नेपाली कांग्रेसबाट अध्यक्षमा उम्मेद्वारी दिएकी राना दोस्रो पटक पनि गाउँपालिका अध्यक्षमा निर्वाचित हुने दाउमा थिइन् । तर अपेक्षाकृत नतिजा हासिल नहुँदा उनको यात्रामा पाँच वर्षका लागि ब्रेक लागेको छ ।

गएको निर्वाचनमा म्याग्दे गाउँपालिकामा पनि कांग्रेसको दबदबा थियो । अध्यक्षमा मायादेवी रानाले चार हजार ५४२ ल्याउँदै एक हजार ८१ मतान्तरले एमालेका श्रेष्ठलाई पराजित गरेकी थिइन् । यसपालिका श्रेष्ठले हारको बदला लिँदै जित दर्ता गराएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले पाँच हजार ३९ मत ल्याएर विजयी भए । उनका निटतम प्रतिद्वन्द्वी एमालेकी रत्नादेवी घिमिरेले चार हजार २०० मत पाइन् । अघिल्लो पालि पनि यिनै दुईको भिडन्त थियो ।

तर दुवै पटक नतिजा बालकृष्णको पोल्टामा परेको छ । गएको निर्वाचनमा बालकृष्णले चार हजार र रत्नादेवीले तीन हजार १५४ मत पाएका थिए । यसपालि म्याग्देमा एमालेले वडामा पनि नतिजा सुधार गरेको छ । वडा नम्बर १, ३ र ७ मा एमालेका वडाध्यक्ष विजयी भएका छन् । २,४,५, ६ मा कांग्रेस उम्मेद्वार विजयी भएका छन् ।

वडा नम्बर १ को अध्यक्षमा मणिभद्र वाग्ले, २ मा शिवबहादुर क्षेत्री, ३ मा टुकराज अधिकारी, ४ मा दिपककुमार श्रेष्ठ, ५ मा शिवबहादुर आले, ६ मा हिरालाल गुरुङ र ७ मा बसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । अघिल्लो पटक म्याग्देको वडा नम्बर २ र ६ मा एमालेले वडाध्यक्षमा जित हासिल गरेको थियो ।