काठमाडौं । गोरखाको ताराखसे मतदान केन्द्रमा गोली चल्दा एकजान कर्मचारी घाइते भएकी छन् ।
स्थानीय तह निर्वाचन अन्तर्गत गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्र (सिद्धकाली मावि) मा गोली चल्दा निर्वाचन गराउन खटिएकी २२ वर्षीया मनिषा थापा घाइते भएकी हुन् ।
उनको घुँडामुनि गोली लागेको निर्वाचन अधिकृत खिमानन्द गौतमले जानकारी दिए । गौतमका अनुसार घाइते थापालाई उपचारका लागि अस्पताल लगिएको छ । उनको अवस्था सामान्य छ ।
मतदानका क्रममा कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताबीचको विवाद भएपछि मतदान सकिएको बेलामा अज्ञात व्यक्तिले गोली चलाएको निर्वाचन अधिकृत गौतमले जानकारी दिए । गोली चलाउने व्यक्तिको खोजी भइरहेको उनले जानकारी दिए ।
यसैबीच जिल्ला प्रशासन कार्यालय गोरखाले घटनास्थलमा नेपाली सेनासहित थप सुरक्षाकर्मी परिचालन गरेको छ । निर्वाचन अधिकृतका अनुसार मतदान कार्य सकिएको समयमा घटना भएको हो ।
‘निर्वाचन कार्यक्रम सकेर बाक्सा मिलाउने क्रममा अज्ञात समूहले गोली चलाएको हो, मतदानको कार्यक्रम सकिएको छ’, उनले भने ।