काठमाडौं । स्थानीय निकायको चुनावको अघिल्लो दिन दोलखामा एकजना जनप्रतिनिधि पक्राउ परेका छन् ।
दोलखाको तामाकोसी गाउँपालिकाको वडा नम्बर एकबाट मतदाता परिचय पत्र खोसेको आरोपमा उनी पक्राउ परेका हुन् ।
सोही स्थानको वडा कार्यालय भवनस्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण गरिएको स्थानमा सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेले १२५ थान मतदाता परिचयपत्र खोसेर फरार भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।
पछि उनलाई इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेर जिल्ला कार्यालयमा पेश गरेको छ ।
उनलाई निर्वाचन कसुर अन्तरगत कारबाही चलाउन प्रक्रिया अघि बढाइएको अर्यालले जानकारी दिए ।