काठमाडौं । गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने जो कोहीलाई पनि कारवाही गर्ने जनाएको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी निर्वाचन विरोधी गतिविधि गर्ने,शान्ति र सहिष्णुता बिथोल्ने तथा मतदातालाई स्वतन्त्ररूपले आफ्ना प्रतिनिधि छनोट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोही पनि कानूनबमोजिम कारवाहीको भागीदार हुने जनाएको हो ।
केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारबाट निर्वाचन प्रचारप्रसारका नाममा आपसी द्वन्द्व, विवाद तथा झैझगडाका छिटफुट घटना घट्ने गरेका, निर्वाचन आचारसंहिताको प्रतिकूलका केही क्रियाकलाप भइरहेका सूचना प्राप्त भएकोमा निर्वाचनलाई शान्त स्वच्छ, निष्पक्ष धाँधलीरहित तथा भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्र्नु सबैको कर्तव्य भएको जनाउँदै मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने जो कोही कानूनबमोजिम कारवाहीको भागीदार हुने उल्लेख गरेको छ ।
निर्वाचनको बहानामा कानूनविपरीतका गतिविधिमा संलग्न हुने र कानून हातमा लिने छुट कसैलाई पनि नभएको र त्यस्ता गतिविधिको सुरक्षा निकायबाट सूक्ष्म निगरानी भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा आज जारी विज्ञप्ति जनाइएको छ ।