• बैशाख २७ २०८३, आईतवार

फ्रान्सबाट ३१ लाख ४७ हजार राष्ट्रिय परिचयपत्र कार्ड नेपाल ल्याइयो

बैशाख २६ २०७९, सोमबार

काठमाडाैं । फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टिटी कम्पनीबाट विभागमा ३१ लाख ४७ हजार कार्ड आइपुगेको छ ।

कार्ड आइपुगेसंगै राष्ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विभागले राष्ट्रिय परिचयपत्र छपाइ शुरू गरेको छ । सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले सोमवार परिचयपत्र छपाइ कार्यको शुभारम्भ गरे ।

बाँकी ८ लाख आउने क्रममा रहेको विभागले जनाएको छ । यो वर्ष भरिमा ५० लाख आपूर्ति गर्ने लक्ष्य विभागले लिएको छ । मेसिनले घण्टामा ११ कार्ड छाप्ने भएकाले परिचयपत्रका फाराम भरेर अन्य प्रक्रिया पूरा गरेकाले छिटै कार्ड पाउने विभागले जनाएको छ ।

विभागले अहिलेसम्म परिचय पत्रका लागि ६७ लाख ७९ हजार ६४२ जनाको आवेदन लिएको छ । अभियानमार्फत ५६ लाख ५३ हजार २०९ र इकाईमार्फत ११ लाख २६ हजार ४३३ आवेदन लिइएको विभागले जनाएको छ ।

विभागले इलाम, भोजपुर, ताप्लेजुङ, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, खोटाङ, ओखलढुंगा, उदयपुर, सर्लाही, मकवानपुर, चितवन, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), गुल्मी, मनाङ, सल्यान, सुर्खेत, डडेलधुरा, अछाम, कञ्‍चनपुर, डोटी, कैलाली र भक्तपुर गरी ३१ जिल्लामा परिचय पत्रको अभियान सम्पन्न गरिसकेको छ । त्यस्तै ३३४ स्थानीय तह र तीन हजार ४५ वडामा अभियान सम्पन्न गरिएको महानिर्देशक भट्टराइले जानकारी दिए ।

अहिले सुनसरी, मोरङ, सप्तरी, सिन्धुपाल्चोक, ललितपुर, तनहुँ, रुपन्देही, मुस्ताङ, स्याङ्जा, कपिलवस्तु, पर्वत, बर्दिया र रुकुम (पश्चिम) बैतडीमा परिचयपत्रको अभियान सञ्चालन भइरहेको छ ।