• बैशाख २७ २०८३, आईतवार

अध्यक्ष केपी ओलीको टिप्पणी- गठबन्धन सरकार झाडीबाट आएको हो

बैशाख २६ २०७९, सोमबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार झाडीबाट आएको टिप्पणी गरेका छन् ।

सोमबार पोखरामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन र गठबन्धन सरकार अरुले फालेको र झाडीबाट टिपिएको टिप्पणी गरेका हुन् । ‘संसदले सरकार जन्माउँछ । गठबन्धन सरकार झाडीबाट आएको हो । परमादेशको गठबन्धन हो । कहाँबाट कसले फालेको हो थाहा छैन । जनताले यस्तालाई साथ दिँदैनन्,’ उनले भने ।

सभाको उपस्थितिले पोखरामा देखिने परिणामले देखाउने बताए । ‘एमाले वास्तमवमा विजय भएको छ । एउटा कर्मकाण्ड वैशाख ३० गते पुर्‍याउनु छ । भोट हाल्ने विधि पुर्‍याउनु छ,’ अध्यक्ष ओलीले थपे, ‘जनताले निर्वाध ढंगले मतदान गर्ने स्थिति बनाउनुपर्छ । मतको रक्षा सजक र सुदृढ ढंगले गर्नुपर्छ ।’

उनले नेपालमा आफूले बोलेको बुझ्नेहरू निकै कम रहेको बताए । आफूले शास्त्रको कुरा गर्दा बुद्धिजीवीले त्यसलाई उखान–टुक्का भन्ने गरेको सुनाए । ‘नेपालमा मैले बोलेको बुझ्ने बुद्धिजीवी कम छन् जस्तो लाग्छ । मैले कहाँ शास्त्रका कुरा गर्छु उनीहरू त्यसलाई उखान टुक्का भन्छन्,’ ओलीले भने, ‘कांग्रेसका नेताले भन्नु त ठीक हो किनकि उनीहरूले बुझ्दैनन् । अरु बुद्धिजीवी छन्, जसले मैले बोलेको कुरालाई उखान टुक्का भन्छन् ।’