काठमाडाैं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि केन्द्रीय अनुगमन टोली खटाएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ का दफा ५ प्रयोग गरी आयोगले नेपाल सरकारका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा विभिन्न १७ जिल्लामा टोली खटाइएको हो ।
टोलीले उम्मेदवारको खर्चको सीमा, आचाारसंहिताको पालना, मौन अवधिमा आचारसंहिताको पालना, पर्यवेक्षणका काम, निर्वाचनको विश्वसनीयता र स्वच्छता आदि विषयमा अनुगमनको जिम्मेवारी पाएको छ ।
उक्त दफामा आयोगले आयोगका पदाधिकारी वा कर्मचारी वा नेपाल सरकारका कर्मचारी वा प्रदेश सरकारका कर्मचारी वा विशेषज्ञसहितका टोली गठन गरी निर्वाचन प्रचारप्रसार, मतदान, मतगणना वा निर्वाचनसँग सम्बन्धित अन्य काम कारबाहीको अनुगमन गर्न वा गराउने सक्ने व्यवस्था गरिएको छ ।
खटाइएका टोलीलाई शनिबार कान्तिपथस्थित आयोगमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको व्यवस्थापकीय तयारी भइसकेकाले समग्र पक्ष र आचारसंहिताको कार्यान्वयनको अनुगमन गरी कुनै निर्णय वा कारबाही गर्नु परेमा स्थलबाटै निर्णय गर्न सक्ने अख्तियारी टोलीलाई दिइएकाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय रुपमा सम्पन्न गर्ने सन्दर्भमा कुनै आग्रह-पूर्वाग्रह नराखी ऐन, कानुनबमोजिम प्रभावकारी अनुगमन गर्न निर्देशन दिए ।