काठमाडौँ । नेकपाका नेता धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीले आफ्ना पार्टीका नेता विप्लव र प्रकाण्ड गम्भीर सैद्धान्तिक विचलनमा फसेको भन्दै अर्को पार्टी घोषणा गरेका छन् ।
बुधबारदेखि चितवनमा गरिएको भेलामार्फत् विप्लव र प्रकाण्डलाई कारवाही गरी उनीहरुले अर्को पार्टी बनाएका हुन् ।
बास्तोला र हेमन्तले विप्लव र प्रकाण्डहरु पुरानो सत्ताले गराएको स्थानीय चुनावमा भाग लिन जानु उनीहरुको विचलनको अन्तिम रुप प्रकट भएको बताएका छन् । उनीहरुलाई यो बाटोमा जानबाट रोक्न आफूहरुले धेरै कोसिश गरेको पनि नेता द्धयले बताएका छन् ।
४ दिनसम्म चलेको भेलाले विप्लवले ल्याएको एकीकृत जनक्रान्तिको लाइनलाई सारसंग्रहवादी भएको आरोप लगाउँदै त्यसलाई खारेज गरेर पार्टीको नाम र कार्यदिशा परिवर्तन गरेका छन् । नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नाम राखिएको छ भने पार्टीको कार्यदिशा ‘एकीकृत जनयुद्ध’ भनिएको छ ।
वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु आफ्नो पार्टीको रणनीति भएको सो पार्टीले जनाएको छ । नेपाल जस्तो नवऔपनिवेसिक र दलाल अर्थतन्त्र भएको देशको राज्यसत्ता बदल्ने कार्यनीति एकीकृत खालको जनयुद्धको तरिका वा कार्यदिशा तय गरेको छ ।
केही महिना अघि कपिलवस्तुमा बसेको विप्लव नेकपाको केन्द्रीय समितिको बैठकले पार्टी चुनावमा नजाने, जाने मन भएकाहरुले पार्टीबाट राजिनामा दिइ स्वतन्त्र हुनुपर्ने र स्वतन्त्ररुपमा उठेका देशभक्त, एमसीसी विरोधी र स्वच्छ छवि भएका उमेदवारहरुलाई सहयोग गर्न सकिने भन्ने निर्णय गरेका थियो । तर विप्लवले सोही बैठकमा स्थानीय चुनावलाई प्रयोग गर्न सकिने भन्दै घुमाउरो तरिकाले संसदीय व्यवस्थालाई मानेर जाने प्रस्ताव गरेका थिए । तर बैठकमा उपस्थित बहुमत केन्द्रीय सदस्यले विप्लवको सो प्रस्तावलाई खारेज गरिदिएका थिए ।
पार्टी केन्द्रको बैठकले पार्टी चुनावमा नजाने सोही निर्णययलाई विप्लवले लत्याएर केन्द्रीय नेताहरुलाई नै चुनावमा उठ्नका लागि निर्देशन गरेकोले पार्टीको बहुमतले गरेको सोही निर्णयको आधारमा आफूहरुले पार्टी पुनरगठन गरेको बास्तोलाको दावी रहेको छ ।
भेलाले धर्मेन्द्र बास्तोलालाई पार्टीको महाधिवेशन आयोजक समितिको संयोजक तोकेको छ । पार्टीको बहुमत केन्द्रीय सदस्यले गरेको निर्णय लत्याएकोले विप्लवलाई कारवही गरिएको पनि बास्तोलाले बताए । यसअघि विप्लवले बस्तोला र सुदर्शनलाई कारवाही गरेका थिए ।
भेलाले धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समिति समेत बनाएको छ । आफूहरु विचारमा बहुमतमा रहेको बास्तोलाको दावी रहेको छ । नेकपा बहुमतले केही महिनापछि पार्टीको ९औं महाधिवेशन गर्ने बताएको छ ।
पार्टीको नाम नेकपा बहुमत राखेका छौं । विप्लव र प्रकाण्डले पार्टीको बहसमतले गरेको निर्णय लत्याएपनि उक्त विचारको रक्षा गर्ने जिम्मा आफूहरुले लिएको एक केन्द्रीय सदस्यले बताए । ती नेताले रुसमा लेनिनले पार्टीको नाम पछाडी बोल्सेभिक राखेको स्मरण गरे ।
भेलाले लिएका निर्णय सार्वजनिक गर्न काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरिने छ । भेलामा संयोजक धर्मेन्द्र बास्तोलाले राजनीतिक प्रतिवेदन पेश गर्दै विप्लवमा राजनीतिक, दार्शनिक र संगठनात्मक रुपमा देखा परेका समस्याका कारण पार्टीलाई संसदवादमा पुर्याउन लागेकाले आफूहरुले विद्रोह गरेको बताए ।
बास्तोलाले विप्लव दार्शनिक रूपले सारसंग्रहवादी, राजनीतिक रूपमा संसदीय संशोधनवादी, संगठनात्मक रूपमा निषेधात्मक अधिभूतवादी र विसर्जनवादी, संघर्षका दृष्टिले आत्मसुरक्षावादी र आर्थिक दृष्टिले जुझारु अर्थवादी भएकोले एकीकृत जनक्रान्ति असफल भएको दाबी समेत गरे ।
एक नेताका अनुसार भेलाले देशभर पार्टी पुनर्निर्माण अभियान सुरु गरिनेछ । त्यो दुईदेखि तीन महिनासम्मको कार्यक्रम बनाइनेछ ।
त्यसपछि महाधिवेशन बोलाउने र राजनीतिक दस्तावेजलाई थप समृद्धि गर्ने र केन्द्रीय समितिको विस्तार गर्ने नेकपाको तयारी छ । पार्टीको नाम नयाँ राख्ने वा यही राख्ने भन्नेबारे पनि भेलामा छलफल भएको छ । अहिलेलाई नेकपा नै राख्ने धेरै नेताहरुको सुझाव दिएका छन ।
सबै कमिटी पुनर्गठन नभएसम्म नेकपा नै नाम राख्न सुझाव धारणा राख्ने नेताहरुले दिए । विप्लवले पार्टीको निर्णय उलंघन गरेकोले नेकपाको नेतृत्व हुने नैतिक हैसियत गुमाइसकेको नेताहरुले बताएका छन् ।