काठमाडाैं । निर्वाचन आयोगले मतदानको दिनका लागि सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ जारी गरेको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन, २०७९ को लागि यही वैशाख २२ गते स्वीकृत भएको सो मापदण्डमा उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन चलाउनका लागि तोकिएबमोजिमको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनु पर्नेछ ।
यसरी निवेदन परेमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले उम्मेदवारको विवरण यकिन गरी सोही निवेदनमा सिफारिस गर्नुपर्ने उल्लेख छ ।
उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटरप्याडमा सवारी साधन नम्बर, सवारी साधनको किसिम, सवारी साधन प्रयोगकर्ताको नामसमेत उल्लेख गरी अनुसूची २ बमोजिमको सिफारिस दिने अधिकारीको सिफारिस लिई अनुसूचीबमोजिम सवारी साधनको अनुमतिपत्र जारी गर्ने निकाय वा अधिकारीसमक्ष पत्र पेश गर्नुपर्नेछ ।
आयोगका अनुसार सवारी साधनका लागि अनुमति माग गर्न निवेदन दिँदा वा पत्र पेश गर्दा यही वैशाख २८ गतेसम्ममा दिइसक्नु पर्नेछ । उक्त मापदण्डको विस्तृत विवरण आयोगको वेबसाइटमा समावेश गरिएको छ ।
आयोगले मतदान हुने दिन आन्तरिकरूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गराउन आयोगले निर्णय गरिसकेको छ ।