काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद र लोकतन्त्र बचाउन पाँच दलीय गठबन्धन बनेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा पाँचदलीय गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्दै अध्यक्ष केसीले संसद बचाउने कुरामा गठबन्धनभित्र एकमत भएकाले पाँच दल एक ठाउँमा उभिएका पनि बताए ।
‘पाँच दलभित्र सबैको एक मत छैन तर संसद बचाउने कुरामा गठबन्धनभित्र एकमत छ त्यही भएर हामी एक ठाउँमा आएका हौँ,’ केसीले भने ।
केसीले कसैलाई खुशी पार्न आफूले जय नेपाल र लालसलाम नभन्ने पनि स्पष्ट पारे । सबैलाई एकमुस्ट अभिनन्दन गर्दै केसीले यसअघि कुनै सभामा आफू सहभागी नभएको सम्बोधनको क्रममा जानकारी गराए ।
६ महानगरलगायत अन्यत्र जनमोर्चाले इमान्दारीपूर्वक गठबन्धनलाई सहयोग गर्ने भन्दै उनले चन्द्रागिरि नगरपालिकामा जनमोर्चाले उपमेयर उठाएकोले सहयोग गर्न आग्रह समेत गरे ।