काठमाडौं ।सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई मत माग्ने नैतिक अधिकार नभएको बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजले शुक्रबार बिहान काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री थापाले पाँच वर्ष सरकार चलाउन नसकेको क्षमायाचना नगरी एमालेलाई मत माग्ने आधार नभएको बताएका हुन् ।
पाँच वर्षका लागि जनमत पाएको पार्टीले सत्ता सञ्चालन गर्न नसकेकै कारण कांग्रेसको नेतृत्वमा सरकार बन्नु बाध्यात्मक अवस्था भएको उनले बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई परमादेशको सरकार भनी आलोचना गरिरहँदा यो अवस्था कसले ल्याएको भनेर उनले प्रश्न गरेका छन् ।
तत्कालीन नेकपाका लागि सर्वाधिक अनुकूल समय हुँदा समेत आफ्नै कारणले संसद विघटन गरिएको महामन्त्री थापाले तर्क गरेका छन् ।