• बैशाख २३ २०८३, बुधबार

पाउमा हजारको नोट राखेर ढोगेका उम्मेदवारलाई निर्वाचन आयोगले साेध्याे स्पष्टीकरण

बैशाख २२ २०७९, बिहीबार

काठमाडाैं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० का वडा अध्यक्षलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदका उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको तस्वीरसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको भन्दै निर्वाचन आयोगले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।

‘निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारबाही नगर्ने हो २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ’, आयोगले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

वडा अध्यक्षका उम्मेदवार खनालले मतदाताको पाउमा पैसा राखेको भन्दै फोटो र समाचार सार्वजनिक भएको थियो । तर, उनले भने आफूले दिदीको खुट्टा ढोगेको दाबी गरेका थिए । उनले दिदी आफ्नो वडाको मतदातासमेत नभएको बताएका थिए । उनले दिदीलाई ढोग्दा हरेक पटक पैसा दिने गरेको र यो पटक पनि त्यही गरेको बताएका थिए ।