काठमाडौँ । निर्वाचन आयोगले भोलि (शुक्रबार) सम्ममा सम्पूर्ण मतपत्रको ढुवानी सम्पन्न हुने जनाएको छ ।
आयोगको नियमित पत्रकारसम्मेलनमा आज आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै मतपत्रको छपाई सकिएको र भोलि (शुक्रवार) बेलुका सम्ममा ढुवानीको काम समेत सकिने बताए ।
प्रवक्ता शर्माले मधेस प्रदेशका जिल्लाहरू बाहेक अन्य जिल्लाको मतपत्र ढुवानी सकिएको र मधेसका जिल्लाहरूमा भोलि नै गन्तव्यमा पुग्ने गरी ढुवानीको व्यवस्था मिलाएको जानकारी दिए ।
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत तथा अन्य कर्मचारीहरूलाई अति जरुरी, मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक फेरबदल नगर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।
यस्तै, आयोगले मतदान कार्यको लागि खटिएका सम्पूर्ण कर्मचारीहरूलाई आफू खटिएका ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आदेश दिएको र उपर्युक्त कारण परेको अवस्थामा बाहेके काममा खटिन इन्कार गर्ने कर्मचारीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न समेत निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
यस्तै, आयोगले हाल सम्म निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ३७ व्यक्ति तथा राजनीतिक दलहरूलाई स्पष्टीकरण सोधेको र प्राप्त स्पष्टीकरणमाथि आयोगले अध्ययन गरिरहेको प्रवक्ता पौडेलले बताए ।