काठमाडौँ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा सत्तागठबन्धनकी साझा उम्मेदवार रेनु दाहाललाई जिताउन आग्रह गरेका छन्।
बिहीबार भरतपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले चितवनको मेयरका रूपमा रेनुले पाँच वर्ष सम्म राम्रो काम गरेको प्रशंसा गर्दै यसपाली पनि रेणु दाहालजीलाई सहयोग गर्न आग्रह गरेका हुन्।
‘रेनुले यहाँ जितिसक्नुभएको छ, हाम्रो पार्टीले बखेडा गर्नु आवश्यक छैन,’ उनले भने, ‘साथीहरूले रेनु दाहालजीलाई सहयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ।’
उनले रेनुको नेतृत्वमा विभिन्न ठाउँमा सडक कालोपत्र भएको पनि बताए। ‘उहाँले स्मार्ट सिटी बनाउने घोषणा गर्नुभएको छ के यो सानो कुरा हो?’ देउवाले प्रश्न गरे, ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सभाहल बनेका खण्डमा यहाँ राम्रो हुनेछ।’
उनले यस्तो काम गर्ने मानिस नै मेयर हुनुपर्ने बताए। ‘यस्तो काम गर्ने मानिस नभएर को हुन्छ यहाँ?,’ उनले भने।
उनले एक्लै कुनै पनि पार्टीले बहुमत नल्याउने भएकोले गठबन्धन आवश्यक पर्ने बताए। साथै उनले चितवनमा गठबन्धनको विरोध हुनु भनेको गठबन्धन टुटाउने षड्यन्त्र भएको दाबी पनि गरेका थिए।
‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ। भरतपुरबाट गठबन्धन टुटाउन हुन्न। गठबन्धन टुट्यो भने हाम्रो पार्टी पनि खत्तम हुन्छ,’ देउवाले भने, ‘राम्रो काम गर्यो भने भोलि हाम्रा साथीले पनि ठाउँ पाउनुहुन्छ। हामीलाई अर्कोपटक सहयोग गर्नुस् भनौंला। रेनुलाई जिताउनु हाम्रो कर्तव्य हो। यस्तो राम्रो काम गर्ने मानिसलाई हरायो भने यहाँका जनताले के भन्लान्?’