काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर जान लागेको भन्दै उजुरी परेको हो ।
गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गर्न लागेको चुनावी सभामा सहभागी हुन देउवा बुधबार चितवन जाँदै छन् । देउवाविरुद्ध अधिवक्ता सुनिता अधिकारीले उजुरी दिएकी हुन् । आचारसंहिताको विषयमा एउटा लिखित उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले पुष्टि गरे ।
निर्वाचन आचार संहिता २०७८ को दफा ५ ले निर्वाचनमा आफै उम्मेदवार भएका अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष विपक्षमा प्रचार प्रसारमा खेल्न हुन वा प्रचार प्रसार गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ ।
यता नेपाली कांग्रेस चितवनले पार्टी सभापतिकको हैसिएतमा देउवा चितवन आउन लागेको जनाएको छ।