काठमाडौँ। काठमाडौं महानगरमा नेपाली कांग्रेसको तर्फबाट मेयर पदको उम्मेदवार सिर्जना सिंहले महानगरवासीलाई ठूला सपना देखाउनेभन्दा पनि व्यवस्थित र सफा काठमाडौं बनाउन प्रमुख भूमिका खेल्ने बताएकी छन्। शंकरदेव क्याम्पस पूर्वविद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले काठमाडौंका सडकमा गरिबले पानी खान र शौचालयसमेत जान नपाउने अवस्था रहेको भन्दै मेयर निर्वाचित भएमा सजिलै यस्ता समस्या समाधान गरिने बताइन्।
´काठमाडौं बनाउने जिम्मा हाम्रो काँधमा आएको छ, मलाई काठमाडौंको मेयरको रुपमा पार्टी र गठबन्धनले अगाडि सारेको छ,’ सिंहले भनिन्। ´भ्रष्टाचार मुक्त काठमाडौं बनाउने हो, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो।’
सिंहले घरघरबाटै फोहोरको व्यवस्थापन गर्न सकिने समेत बताइन्। साना साना समस्याले काठमाडौं गिज्याउने गरेको उनको अनुभव थियो।
उनले जेष्ठ नागरिकको समस्या अत्याधिक रहेको बताउँदै खाली जग्गामा पार्क र जेष्ठ नागरिक भवन बनाउने काठमाडौंका सस्कृति, सभ्यता र पुरातत्त्विक सम्पदाको संरक्षण गर्नेसमेत बताइन्।
‘अब व्यापारिक महल बनाउने काम बन्द हुनेछ। ३२ वटै स्वास्थ प्रबन्धन केन्द्र र जेष्ठ नागरिक भवन बन्नेछ,’ उनले भनिन्।
उनले महानगरवासीका लागि सुविधा सम्पन्न अस्पताल खोल्ने घोषणा गर्दै उक्त अस्पतालमा असहाय, दिनदुखी र जेष्ठ नागरिकलाई नि:शुल्क उपचारको व्यवस्था गरिने बताइन्।