• श्रावण १५ २०८३, शुक्रबार

चितवनमा शक्ति प्रदर्शन गर्दै गठबन्धन, शीर्ष नेताहरुले सम्बोधन गर्ने

बैशाख २० २०७९, मंगलवार

काठमाडौँ। आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै भरतपुरमा सत्ता गठबन्धन दलले बृहत् आमसभाको आयोजना –गर्ने भएको छ ।
२२ वैशाखमा केन्द्रीय बस टर्मिनल (पारस बसपार्क)मा गठबन्धनका पाँचै दलका केन्द्रीय नेताहरूको सहभागितामा आमसभा हुन लागेको हो ।

आमसभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल , कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य शेखर कोइराला, महामन्त्री गगन थापालगायतले सम्बोधन गर्ने चितवन कांग्रेसका उपसभापति राजीव न्यौपानेले जानकारी दिए ।

उनका अनुसार जनता समाजवादी र राष्ट्रिय जनमोर्चा (राजमो)को केन्द्रीय तहका नेताले पनि आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आमसभामा घरघरबाट जनसहभागिता जुटाउनको लागि व्यापक तयारी थालिएको उनले बताए ।

सत्ता गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेणु दाहाललाई उम्मेदवार बनाएको छ भने उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार रहेका छन् ।