गोरखा । गोरखामा जीप दुर्घटनामा परी मृत्यु भएका तीनैजनाको पहिचान खुलेको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५, चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल, नवलपुरको कावासोती नगरपालिका–१४ का ८० वर्षीय कृष्णप्रसाद सिग्देल र काठमाडौं महानगरपालिका–१६ बस्ने ५१ वर्षीय कमलराज दानी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज कोइरालाले जानकारी दिए ।
सिरानचोक गाउँपालिका–५ मा पर्ने आरुबोटेमा सोमबार साँझ करिब ७ बजे दुलही लिएर फर्कने क्रममा रोकिराखेको बा१४च ७८१ नम्बरको स्कोपियो जीप भिरबाट खसेर दुर्घटनामा परेको थियो । जन्ती चढ्ने क्रममा एकजनाले ह्यान्डब्रेक चलाइदिएका कारण सो दुर्घटना भएको उनले बताए ।
चालक चढ्न नपाउँदै जन्ती चढ्ने क्रममा सो घटना भएको थियो । जीप आरुबोटेस्थित फिरफिरे भिरबाट झन्डै २०० मिटर तल खसेको थियो । जीपमा पाँचजना सवार रहेकामा अरू दुईजनाले भने हामफालेर ज्यान जोगाएको प्रहरीको भनाइ छ ।
मृतक तीनैजनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । शव परीक्षण गरी अन्त्येष्टिका लागि परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।