• बैशाख २७ २०८३, आईतवार

निर्वाचन सुरक्षाका लागि थप गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड : गृहमन्त्री खाँण

बैशाख १९ २०७९, सोमबार

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले अहिलेसम्म निर्वाचन सुरक्षाका लागि भए गरेका काम प्रशंसायोग्य रहेको बताएका छन् ।

गृहमन्त्री खाँणको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षाबारे छलफलमा अहिलेसम्म निर्वाचन सुरक्षाका लागि भए गरेका काम प्रशंसायोग्य रहेको भन्दै स्थानीय निर्वाचन शान्तिपूर्ण तरिकाले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मिलाउनुपर्ने सुरक्षा प्रबन्धमा कुनै कसुर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए।

बैठकमा निर्वाचनको प्रचारप्रसारका क्रममा हुन सक्ने घटनालाई मध्यनजर गर्दै त्यस्ता घटना हुन नदिनका लागि गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिइएको छ ।

उनले निर्वाचनमा आकस्मिकरूपमा र योजनाबद्ध झडपहरू पनि हुन सक्ने भन्दै त्यस विषयमा सचेत रहन र झडपबारे सूचना पाउने बित्तिकै सुरक्षा निकायले एक अर्काबीच समन्वयमा अगाडि बढ्न निर्देशन दिए।

बैठकमा सोमबार मात्रै पदबहाली गरेका नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई समितिको नयाँ सदस्यका रूपमा स्वागत गरिएको थियो ।

बैठकमा गृह सचिव टेकनारायण पाण्डे, निमित्त रक्षासचिव यज्ञप्रसाद ढुङ्गेल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक सिंह, सशस्त्र प्रहरी महानिरीक्षक अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलको सहभागिता थियो ।