काठमाडौँ। नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयर पदका लागि उम्मेदवार बनेका केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
एक सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिप्रति आयोगले २४ घण्टाभित्र स्पष्ट पार्न स्थापितलाई भनेको छ।
स्थापितको अभिव्यक्ति सार्वजनिक भएपछि सत्यसत्यबारे २४ घन्टाभित्र जवाफ दिन पत्र काटिएको निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए।
मेयरका उम्मेदवार स्थापितले केहीदिन अघि भएको एक अन्तरक्रिया कार्यक्रममा एक प्रश्नकर्तालाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए। त्यसपछि स्थापित थप विवादमा तानिएका थिए। आयोगले सोही विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण सोधेको हो।
यस्तै निर्वाचन आयोगले एमाले उमेदवार स्थापितको उमेदवारी खारेजीको माग गर्दै विज्ञप्ति जारी गर्ने ४५ वटा गैरसरकारी संस्थालाई पनि स्पष्टीकरण सोधेको छ।
आरोप लागेको व्यक्तिलाई सम्बन्धित दलले उमेदवार बनाउन हुन्थ्यो कि हुँदैनथ्यो त्यो सम्बन्धित पार्टीको कुरा हो, तर विज्ञप्तिमा उमेदवारी खारेजीको माग गरिएकाले सत्य तथ्यबारे आयोगलाई २४ घण्टाभित्र जानकारी गराउन भनिएको आयोगले बताएको छ।