• बैशाख २३ २०८३, बुधबार

पाउमा दाम चढाएर मत मागेको आरोप लागेका वडाध्यक्षका उमेदवारले दिए स्पष्टिकरण

बैशाख १९ २०७९, सोमबार

हजारको नोट मतदाताको पाउमा चढाएर मत मागिरहेको तस्विर आज निकै चर्चामा आएको छ । निर्वाचन आयोगका अनुसार त्यस्तो गर्नु आचारसंहिताका विपरितको कार्य मानिन्छ ।

भाइरल भएको तस्विरमा एकजना पुरषले महिलाको गोडामा एकहजारको नोट चढाएर ढोग गरिरहेका छन् । सामाजिक सञ्जाल र विभिन्न अनलाइन मिडियामा आएका समाचारहरुका अनुसार उनी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० का वडाध्यक्षका उमेदवार अमृत खनाल हुन् । कांग्रेसका तर्फबाट चुनावी प्रचारका लागि घरदैलो गरिरहेका उनले प्रत्येक घरमा यसैगरी भोट मागिरहेको समाचार चर्चामा आएको छ ।

उक्त तस्विर सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि उनले आफ्नी फुपूलाई ढोग गरेको भन्दै सामाजिक सञ्जालमार्फत् नै स्पष्टीकरण दिएका छन् । उनले पछि प्रष्टीकरण दिएको पोस्ट पनि हटाएका छन् ।

उनले फेसबुक वालमा लेखेका थिए–‘यहाँहरू सबैलाई हार्दिक नमन तथा जय नेपाल । मेरी फुपूदिदीको हातबाट टीका लगाएपछि मैले मेरी दिदीको पाऊ ढोक्दै गर्दा बिना दक्षिणा कसरी ढोग गरूँ ? आदर र सम्मान गर्नु मेरो धर्म हो । यो सकारात्मक संस्कारलाई पनि प्रचार प्रसार गरिदिनु भएकोमा यहाँहरू सबैलाई हार्दिक धन्यवाद ।’

उनले कसैलाई एक हजार त कसैलाई त्योभन्दा बढी रकम पाउमा राखेर ढोग्दै भोट मागिरहेको स्थानीयले बताएका छन् । यसरी पाउमा पैसा राखेर भोट मागिरहेकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । मेलम्चीमा कांग्रेस र राप्रपाबीच चुनावी तालमेल भएको छ ।