यही बैसाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनलाई मर्यादित रुपमा सञ्चालन गरी सम्पन्न गर्नका लागि निर्वाचन आयोगले विभिन्न माध्यमहरुबाट मतदाताले जान्नु पर्ने नियमहरु प्रकाशन तथा प्रशारण गरिरहेकै छ । तर पनि विभिन्न स्थानहरुमा ठूला भनिएका पार्टीहरुबाट नै निर्वाचन आचारसंहिता उल्लंघन भएका समाचारहरु आइरहेका छन् ।
यसैबीच निर्वाचन आयोगले मतदाता तथा सर्वसाधारणको जानकारीका लागि निर्वाचन आचारसंहिता सम्बन्धि विविध नियमहरु बनाएको छ । आवश्यक ठानेर हामीले हाम्रो सञ्चारमाध्यमबाट पनि ती र त्यस्ता जानकारीहरु प्रकाशन गर्दै आएका छौं ।
कस्तो अवस्थामा तपाईंले दिएको मत बदर हुन्छ ?
मतदाताले मत सङ्केत गर्दा विचार पुर्याएर मतदान गर्नुपर्छ, अन्यथा मत बदर हुन्छ । सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको, औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मत सङ्केत गरिएको, मत सङ्केत चिह्न नबुझिने गरी लत्पतिएको वा च्यातिएको अवस्थाको मतपत्र बदर हुनेछ ।
त्यस्तै उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको खण्डमा पनि म मत दर हुनेछ ।
उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत सङ्केत गरिएको खण्डमा, कुनैपनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सङ्केत नगरिएको खण्डमा, निर्वाचित गर्नुपर्ने संख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मतसङ्केत गरिएको खण्डमा मत बदर हुनेछ ।
मत सङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको, आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको, मतपेटिका भन्दा बाहिर राखिएको खण्डमा र जाली मतपत्र भएमा पनि मत बदर हुनेछ ।
यसैगरी निर्वाचन आयोगले निर्वाचनको सन्दर्भमा मतदाताले देहायका कर्तव्य पूरा गर्नुपर्छ भनि निम्न लिखित जानकारीहरु दिन निर्देशन गरेको छ ।
–मत दिने अधिकारबारे आफूलाई जानकारी भएको विषय अन्य मतदातालाई जानकारी गराउने ।
–निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक सहयोग पुर्याउने ।
–मतदानमा प्रतिकूल असर पार्न खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने र आफू पनि कुनै होहल्ला वा हुलदङ्गामा नलाग्ने ।
–मतदानको दिन कुनै दल वा उम्मेदवारको नाम, निर्वाचन चिह्न वा सङ्केत भएको पहिरन, परिचयपत्र र व्याज
नलगाउने ।
–मतदानको दिन सवारी साधन प्रयोग गरी आवत जावत गर्न वा कसैलाई पनि लाने वा ल्याउने कार्य नगर्ने तर
शारीरिक रूपले अशक्त वा हिँड्डुल गर्न नसक्ने मतदाताको लागि मतदान अधिकृतले तोकिदिएको सवारी साधन
प्रयोग गर्न सकिने ।
–आचारसंहिता उल्लङ्घन भएको देखिएमा निर्वाचन आयोग, निर्वाचन अधिकृत वा निर्वाचनमा खटिएका कर्मचारीलाई
जानकारी गराउनु पर्नेछ ।
–कसैले पनि अर्को मतदाताको नामको मतपत्र बुझिलिन वा अर्काको नामबाट मतदान गर्न हुँदैन । एउटै निर्वाचनका लागि एक भन्दा बढी पटक मतदान गर्न हुँदैन ।
–कसैले पनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौँडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन हुँदैन । यदि गरेमा कानून बमोजिम कारवाही हुनेछ ।
निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा :
–शीर्षककै आधारमा वा मन परेकै आधारमा लाइक, सेयर र कमेन्ट नगरौं,
–सूचनाको विश्वसनीयता जाँच गरौँ,
–निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झुठा साइट र एकाउन्ट सञ्चालन नगरौं,
–निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पीच) दिने जस्ता कार्य नगरौं,
–कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी÷गराई सामाजिक सञ्जालमा शेयर वा लाइक वा कमेन्ट नगरौँ,
–कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्ने तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण नगरौँ ।
स्रोत : निर्वाचन आयोग ।